The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences
Showing posts with label 2017. Show all posts
Showing posts with label 2017. Show all posts

Monday, June 25, 2018

त्यो घर, ती दशैँ



https://birtajyoti.com/dr-bhampa_dasain/

0
8

डा. भम्पा राई
आहा दशैँ !
तर, तीन दशक पुग्न लाग्यो, नेपाली मूलका हामी भूटानी नागरिकको जीवन नै आहत छ । नेपालका शरणार्थी शिविर र तेस्रो देशमा बसेर घर सम्झनु परेको छ । हरेक साल दशैँ आउन लाग्दा त्यो घरको सम्झना वेदना बनेर बल्झिदिन्छ ।
दशैँ नजिकिँदै आउँदा म दक्षिण भूटानको साम्ची जिल्लाको बाँडा गाउँमा रहेको त्यो घर सम्झन्छु, जहाँ म जन्मेर हुर्कें । म दिइखान पुग्ने परिवार हाँकेका आइतराज र सुनमाया राईको तेस्रो सन्तान थिएँ ।
घरमा सघाउपघाउ गर्नेहरू थुप्रै थिए । दशैँ लाग्दा खुलेका शारदीय दिनमा महिलाहरू रातोमाटो, कमेरो र गोबरले विशेष रूपमा घर लिपपोत गर्थे । तन्नेरीहरू सनपाटको लठारो बाटेर पीङ बनाउन जुट्थे । दशैँ–तिहारमा एकचोटि भुईं छोड्नुपर्छ भन्ने भनाइ थियो ।
भर्खरै सारा घरआँगन लिपपोत गरिएको माटो र गोबरको हरक, सयपत्री र बाबरीको मगमग, सिकुवामा नयाँ लुगा सिलाइरहेका दर्जीले चलाएको कलको आवाज, घरभित्र मरमसला पिस्दा निस्केको वासना, घर–घरमा चिउरा कुट्दाका ढिकीको आवाजका बीचमा दशैँ गाउँ पस्थ्यो ।
हामी राईको घरमा खसी नचल्ने, तीन वटासम्म सुँगुर काटिन्थ्यो । अटुट दूध–दहीका लागि दुई माउ दुहुना गाई घरमै हुन्थे । एक बिहान माथिको खर्कको गोठमा १५ माउ भैँसी, ६५ माउ गाई, पाडा–पाडी र बाच्छा–बाच्छी थिए । लखेटिएर हिँड्दा ती त्यतिकै छाडिए ।
हाम्रो गाउँको देव्रेपट्टि जलढका र दाहिनेपट्टि तोदे खोला थियो । दशैँ विदामा हामी त्यहाँको कन्चन पानीमा बाँकटे हान्थ्यौँ, माछा मारेर ढुंगामा सुकाएको, घर ल्याएर अँगेनोमा पोलेर नून–खुर्सानीमा चोेप्दै खाँदाको स्वाद यो जिब्रोले यो जुनीमा भुल्दैन ।
हामी कहिले खेल्दाखेल्दै सिरान डाँडामा पुग्थ्यौँ । त्यहाँबाट तलतिर हेर्दा जलढका र तोदे खोलाबीचको फाँटभरि देखिने पाक्दै गरेको धान र चरिरहेका बस्तुभाउ सम्झँदा अहिल्यै पुगिहालुँ जस्तो लाग्छ ।
जलढका र तोदे खोलाकै बीचमा थियो हाम्रो तीन मुरी बीउ लाग्ने घुमाउने खेत, पाँचपाथी बीउ लाग्ने अंके खेत, आठपाथी बीउको खोपीखर्क खेत र १४ पाथी बीउको मसले खेत ।
एक सिजनमा ३० मन जति अलैँची निस्कने अलैँचीबारी र मकै, भटमास, कोदो रोपिने पाखो बारी पनि प्रशस्त थियो । घरसँगै गोबर मल मात्र भेटेका आरू, सुन्तला, मेवा र केरा बगान थियो ।
खेत र बारीका कान्लाहरूमा नाइटे ज्यामिर प्रशस्त थिए । ढिकुटीभरि धान, गोठभरि गाईबस्तु, वरिपरि फलफूलको बगान र बाह्रैमास उब्जाउ दिइरहने रसिलोभरिलो खेतबारी थियो हाम्रो ।
दशैँको टीकाको दिन बुबा र आमाले हामीलाई पालैपालो सेतो टीका लगाइदिनुुहुन्थ्यो । त्यसपछि ठूलो बरण्डामा वरिपरि बसेर नयाँ धानको नरम चिउरासँग दशैँका परिकार खाइन्थ्यो । घरमा टीका थाप्न आउने आफन्तहरूको लर्काे छुट्थ्यो ।
हामी पनि टीका लगाउन मामाघर जान्थ्यौँ । त्यसबेला मानेको दशैँ, हाँसखेल गर्दै बिताएका दिन, दगुर्दै नाघेका कान्ला, सुवानी माली गाई, बोकिहालौँ जस्ता बाच्छाबाच्छी, आफूसँगै भाग बस्ने कुकुर र बिराला आज मसँग छैनन् । छ त केवल तिनको सम्झनाले हुण्डरी चलाइदिने एउटा हृदय !
गाउँबाटै स्कूल फाइनल गरेपछि सन् १९६८ मा एमबीबीएस पढ्न गुहाटी गएँ । फर्केर थिम्पू जनरल हस्पिटलमा काम गरेँ ।
पछि बाङ्लादेशको ढाका विश्वविद्यालयबाट एफसीपीएस डिग्री लिएपछि १९७७ बाट छुका जलविद्युत् परियोजनामा मेडिकल अधिकृत भएँ, शाही नातेदारहरूको पनि डाक्टर बनियो ।
त्यस अवधिमा निश्चय नै गाउँघरसँगैको सम्बन्ध पातलियो, तर हरेक वर्ष दशैँ मनाउन त घरै पुगियो । त्यही घर जहाँ बाबुआमाले हामी सात सन्तान जन्माएर हुर्काउनुभयो ।
१९९० तिर भूटानमा नेपालीभाषीमाथि सरकारी दमन बढ्यो । त्यसको विरोध गर्दा राज्य नै दुश्मन बन्यो । आज मेरा एक दिदी र दुई बहिनी भूटानमा छन् ।
आमाबाबु र कान्छी बहिनी नेपालको शिविरमा दिवंगत भए । भाइ बलराजको परिवार अमेरिकामा पुनर्वास भयो । तर, म र एक दिदी भूटान नै फर्कन चाहन्छौँ, आफ्नै बाँडा गाउँमा ।
यो मेरो आत्माको अडान हो । त्यहाँको घर, खेतबारी, खोला, डाँडापाखा, वन सबैले बोलाइरहेको मेरो मनले सुनिरहेको छ ।
प्रस्तुतिः गोपाल गडतौला
हिमाल खबरपत्रिकाबाट
प्रतिक्रिया व्यक्त गर्नुस्