The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Wednesday, November 15, 2006

भूटानी शरणार्थीहरूको विगत, अमेरिकी रहर र यथार्थता

भूटानी शरणार्थीहरूको विगत, अमेरिकी रहर र यथार्थता

कैलाशकुमार सिवाकोटी
नोभेम्बर, १५
भूमिका

१२ वर्षमा खोलो पनि फर्किन्छ भनेको जान्ने बुझ्ने भएदेखि नै हो । तर यो खोलाको पौराणिक नियम दोस्रो प्रजातन्त्रसँगै जन्मिएको भूटानी शरणार्थीहरूका लागि लागू हुन सकेन । थाहा छैन-अन्यौलताको चिसो छिँडीलाई कहिलेसम्म चुमिरहनुपर्ने हो भूटानी शरणार्थीहरूले ! हल्लैहल्लाको यो धर्तीमा भूटानी शरणार्थीहरूबारे अमेरिकी सहायकमन्त्री एलेन सरबेरीले रोपेको-निराशाको आहालमा चुर्लुम्म डुबेका भूटानी शरणार्थीहरूलाई तीनदेखि चार वर्षभित्रमा अमेरिका नयाँ आश दिन चाहन्छ । मानवीयताको मात्रालाई ध्यानमा राखी यस प्रत्यनमा ६० हजारसम्म शरणार्थीहरू अटाउँने छन् भन्ने आशयको पछिल्लो हल्लाले कतै भूटानको विगतलाई छोप्न थोरै भए पनि भरथेग गर्ने त होइन ? इतिहास ओझेलबाट केही हदसम्म भए पनि उम्कन सकोस् भन्ने यस लेखको आसय हो ।

विषय प्रवेशः

रगत र पसिनाले अर्जेको उर्वरभूमि भूटानी सरकारलाई दानबकस दिएर, पारिवारिक मायाममता बिरक्तिएर वा कुनै पनि प्रकारको रहर र लहडको पछि लागेर अपमान, पीडा र अमानवीय सास्तीको भारी बोकेर नेपाली बगरमा थन्किन र अर्काले खटाएको मानो खान पक्कै पनि भूटानीहरू नेपाल छिरेका होइनन् । यसको पछाडि तीतो र अति अकल्पनीय एवम् पीडादायी व्यथाले बास गरेको छ । पछाडि फर्कदा थाहा हुन्छ, अतीतको गर्भमा लुकेको रमाइला र मिजासिला भूटानीहरूको रमाइलोपछिको नरमाइले र नमीठो कहानी !

अमेरिकी लियो ई रोजका अनुसार-सत्रौँ शताव्दीको उदयसँगै तिव्बती लामा ङवाङ् नामग्याल धार्मिक षड्यन्त्रको सिकार भए र उनी तिव्बत छोडी भुटान हानिए र भुटानमा धार्मिक एकीकरणको मियो समाएर शक्ति एकीकृत गरी पहिलो धर्म राजा बने । बिसौँ शताव्दीको आरम्भसम्म उनका उत्तराधिकारीको भुटानमा राइँदाइँ चल्यो ।

नामग्याल सन् १६२४ मा गोरखा, त्यसको केही समयपछि मकवानपुर र १६४० ताका कान्तिपुर छिरेपछि अप्रत्यक्षतः त्यसबेलादेखि नै भूटानी र नेपाली ओहोरदोहोरको चक्कर चल्न थालेको हो । भनिन्छ-त्यसताका कैयन नेपाली व्यापारीहरू नामग्यालको भूटान लहसिएका थिए रे ! २० औँ शताव्दीको जन्मसँगै नामग्याल वंशीको ठाउँ नामग्यालका उत्तराधिकारीले नै पन्लप पदवी दिई भुटानको पूर्वी क्षेत्र टङ्सा हेर्न खटाइएका उगेन वाङचुक बेलायतको सहयोग र समर्थनमा भूटानी राजाको ताज पहिरिन भ्याए । डिसेम्वर १७, १९०७ मा राजा बनेका वाङचुकले आफ्ना उत्तराधिकारीलाई पालैपालो गरी सिंहसानमा बसाले । वर्तमान भूटानी राजा जिग्मेसिङ्मे वाङचुक सन् १९७२ मा गद्दीमा उक्लेका हुन ।

नेपालीहरू कसरी भूटान छिरे भन्ने सम्बन्धमा अर्को पनि स्वादिलो कहानी छ- उगेन वाङचुकको उगेन दोर्जी नामका एकजना कालिम्पोङेसँग सन् १८९० देखि सम्बन्ध साह्रै मजाले झ्याङ्गियो । वाङचुकलाई राजा बनाउँन दोर्जीले जानेबुझे र हुनेसम्मको कुनै कसर बाँकी राखेनन् । त्यसबापत उनले कोसेलीस्वरूप दोर्जीलाई गङजीम (प्रधानमन्त्री सरह) को कुर्सी जिम्मा लगाइदिए । दोर्जीको कालिम्पोङे नेपालीहरूसँग राम्रो चिनजान र हेलमेल भएको कारण दक्षिण भूटानमा कालिम्पोङका चिया बगानमा कार्यरत नेपालीहरूलाई बोलाएर भने-बाबुनानी हो यही माटोमा बस, खनजोत गर, कर तिर । त्यसताका दक्षिणी भूटान दिउँसो अँध्यारो र औलोको कारखाना थियो । नेपालीहरूले त्यस अनकण्टार क्षेत्रको मर्मत गर्न थाले । कालिम्पोङे दोर्जी नेपाली संस्कृति, रीतिरीवाज र परम्परासँग परिचित भएका हुनाले नेपाली जाति र उनीबीच सम्बन्ध गहिरिदै गयो, तर उत्तरका डुक्पाहरूसँग भने मायाममता र सम्बन्धको लहरो तन्किन सकेन । पछाडि तिनै डुक्पाहरू प्रशासक र सरकारका प्रतिनिधि बनेर थिम्पुमा आफ्नो रवाफ देखाउन थाले । सन् १९८० को दशक पूर्वसम्म भूटानको राजनीतिमा विभिन्न उलटपुलट र उथलपुथल भए । राजाकै निर्देशनमा प्रधानमन्त्रीलाई सुँइक्याउने कामसमेत भयो । दक्षिण भूटानले केन्द्रीय शासनको स्वाद पनि चाख्यो, तर झण्डै सय वर्षको अवधिसम्म नेपालीहरूमाथि कुनै झमेला आइलागेन । बरु नेपालीहरूले राखेको नागरिकता र सरकारी नियुक्क्तिलगायतका मागहरू भूटान सरकारले बिनाआनाकानी पुरा गरिदियो । नेपाली भाषा सरकारी स्कुलमा पढाइन थाल्यो, दसैंजस्ता राष्ट्रिय पर्वहरू विदा दिन थालियो, आन्तरजातीय विवाहलाई पुरस्कृत गरियो, तर खुसी र हर्षको आयु लम्बिन सकेन । स्थितिले एकाएक कोल्टे फे-यो ।

सन् १९८५ पछिका दिनहरू नेपालीका लागि अभिशाप बन्दै गए । अनिवार्य रूपमा जोङखाभाषा सिक्नैपर्ने, बख्खु लगाउनै पर्ने नियम बनाइए । भकाभक मन्दिरहरू भत्काउन थालियो, नेपाली पुस्तक जलाइयो । नेपाली भाषालाई घोषितअघोषित रूपमा प्रतिबन्ध लगाइयो । विद्यालय, अस्पतालहरूमा ताला ठोकिए । सरकारी सेवाबाट नेपालीहरूलाई बर्खास्त गर्न थालियो । डुक्पा सँस्कृतिको संरक्षण गर्ने, विदेशबाट भित्रिएको आधुनिकतालाई नाकबन्दी लगाउने नाममा नेपालीका घरघरमा गएर टेलिभिजनहरू फुटाउन थालियो । १९९० को मध्यदेखि त भोटेहरूको अत्यचार यति चुलियो- नेपाली छोरीचेलीहरू बलत्कार गर्ने, यातना दिने, हत्या गर्ने, डरत्रास, धम्की दिने, मध्यरातमा आएर सताउने, जेलमा लगेर कोच्ने, नागरिकतालगायत अन्य कागजात लुटने, घर भत्काउने, आगो लगाउने, लुटेरा, देशद्रोही, आतङ्कारीजस्ता उपाधिहरू दिने लगायतका गतिविधि एवम् घटनाहरू त सामान्य र दैनिकी कार्यजस्ता बन्दै गए ।

किन मच्चाइयो यत्रो बबन्डर ?
भूटानमा नेपालीहरूको जनसङ्ख्यमा वृद्धि हुँदै गएपछि डुक्पाहरूले आफूलाई अल्पमतमा परेको महशुस गर्न थालिसकेका थिए । कतै नेपालीहरू बहुमतमा पुगेर हाम्रो अस्तित्व बिलाउने त होइन भन्ने शङ्काले उनीहरूको मनमा डेरा जमाइसकेको थियो । सन् १९७३ को सिक्किमको घटनाले उनीहरूको शङ्कालाई मलजल गर्ने र टेवा दिएको थियो, जतिखेर सिक्किमे नेपालीहरूले राजा चोग्याललाई सत्ताबाट खेदाएका थिए । यसै वास्तविकतालाई ओकल्दै वर्तमान राजा जिग्मेसिङ्मे वाङचुकले एकपटक भनेका थिए-आउँदो १०, १५ वा २० वर्षमा भूटान भूटानीहरूको देश भएर रहने छैन । भूटान नेपाली राज्य हुनेछ-सिक्किमजस्तै । यसरी नेपाली मूलका भूटानीहरू भूटानी शासकहरूको लागि टाउकोमाथि झुण्डिएको तरबार बनेर रहेको भान भयो । यसको उपचारका लागि माथि भनिएझैँ भूटानी सरकार एकातिर दमनको खेती गर्न थाल्यो । अर्कोतिर ऐनलाई जङ्गली तरिकाले खारेज गर्ने, संशोधन गर्ने, नयाँ बनाउने कामहरू भकाभक हुन थाल्यो । नागरिकता ऐन, १९८५, विवाह ऐन, १९७७, डि्रग्लाम नाम्सा, १९८८, मालपोत तिरो अभिलेख, १९७७ र त्रिमसुङ चेम्पो, १९९१ आदि कानुन तर्जुमा गरियो ।
नागरिकता ऐन १९८५ ले नागरिकता ऐन, १९५८ र ७७ ले प्रदान गरेका सारा नेपाली मूलका भूटानीहरूको सारा अधिकारलाई निल्ने काम ग-यो । यस ऐनले १९८५ पूर्व र यसपछिका नागरिकतासम्बन्धी पुरै प्रमाणपत्र र अभिलेखहरू गैह्रकानुनी घोषित ग-यो । भूटानी अधिकारीहरूले ती प्रमाणपत्र र अभिलेखहरूलाई आफ्नो कब्जामा लिन थाले । विभिन्न सात प्रकारमा नागरिकहरूलाई विभक्त गरियो । साताभित्रमा देश छाड्ने आदेश दिइयो । नेपाली भूटानीहरूका लागि मात्र लागू हुने विवाह ऐन १९७७ घाँटीको गलगाँड सावित भयो । कुनै विदेशीसँग विवाह गरेवापत उसले पुरस्कारस्वरूप बढुवा रोक्का हुने, छात्रवृति नपाउने, तालिम आदिबाट बञ्चित रहनुपर्ने अवस्था एकातिर सिर्जना भयो भने अर्कोतिर छ पुस्तासम्म विवाहवारी नचल्ने हुँदा विवाहको सम्भावना साह्रै कम भएर गयो । यदि विदेशीसँग विवाह गरेको खण्डमा छोराछोरीहरूका लागि नागरिकता दुर्लभ जन्तुजस्तै बन्ने भयो । डि्रग्लाम नाम्सा, १९८८ ले नेपाली भूटानीहरूलाई यस्तो एउटा बन्धनमा ल्याएर बाँधिदियो, जसअनुसार उत्तरी भूटानका डुक्पाहरूको खानपान, रहनसहन, रीतिरीवाज जस्ताको तस्तै शिरोधार्य गर्नुपर्ने भयो । मालपोत तिरो अभिलेख, १९७७ मा गरियो । दक्षिणी भूटानी नेपालीको मेलोमेसो नै खेती भएको हुँदा वुक्षारोपण नीति, सुरक्षामामिला, विवाह आदि कारणबाट प्रत्यक्ष/अप्रत्यक्षतः पटकपटक असर पारेको थियो । त्रिमसुङ चेम्पो-१९९१ मा निर्मित यस कानुनले निरङ्कुश राजतन्त्रको रखबारी गर्दछ । यस कानुनले विशेषतः राज्य, सरकार र राजपरिवारको धज्जी उडाउनेलाई मृत्युदण्डसम्मको सजाय दिने प्रावधान छ । स्वविवेकमा प्रयोग हुने यस कानुनअनुसार कुनै नेपाली भुटानबाहिर गयो भने उसलाई र उसको परिबारलाई दशा लाग्यो भन्ने जाने हुन्छ । ऊ अराष्ट्रिय तत्वमा रूपान्तरित गरिन्छ ।
यसरी नेपालीहरूमाथि अत्याचारको सङ्गीन रोप्नुपछाडि माथि उल्लेख गरिएझैँ एकातिर भूटानी नेपालीहरू राजपरिवारको ज्यादत्तिप्रति धनुष्टङ्कार भएर निहुरिएनन्, सलामी ठोकेनन्, कतै यिनले पछाडि गएर भूटानलाई झ्याप पार्ने त होइनन्, कतै हाम्रै बसाइँ नै उठाउने त होइनन् भन्ने लगायतका शङ्कास्पद कार्यहरूलाई आधार बनाइयो । सिक्किमको घटना आगोमा थप पेट्रोल सावित भयो । १९८१ को जनगणनाले भूटानी शासकको धनु हल्लिन थाल्यो, किनकि जनगणनाले नेपालीहरू बहुमतमा रहेको देखायो । यस जनगणनालाई गुपचुप राख्न भूटानी सरकारले धेरै कसरतहरू ग-यो र सालाखाला जनसङ्ख्याको तीन प्रतिशत नेपाली रहेको भनी नाटकको सम्वाद प्रस्तुत गरियो । पुनः भूटानी सरकार १९८८ जनगणनाको ढ्वाङ गरी बहुमत नेपालीलाई अल्पमतमा पार्ने तानाबानामा लाग्यो । यसैको परिणाम हो, माथि उल्लेख गरिएको नेपाली भूटानीमाथि भूटान सरकारको ज्यादत्ति र निर्मित कानुनहरू । यसअलवा अर्को एउटा यथार्थता-एकताका अनकण्टार र औलोको मुहानको रूपमा परिचित दक्षिणी भूटान हराभरा भयो । नेपालीहरूले प्याङ्खर भूमिलाई उर्वरिलो बनाए । हेर्दै लोभलाग्दो ! अन्तत त्यो भूमिमा पनि भूटानी सरकारको आँखा लागेको हुनसक्छ ।
भूटानी सरकारको तानशाही प्रवृतिले सीमा नाघ्न थालेपछि भूटान पिपुल्स पार्टीले १९९० को अन्त्यतिर त्यसको विरोधमा प्रदर्शनको आयोजना गर्यो । त्यो प्रदर्शन भूटानी सरकारका् लागि बलिरहेको आगोमा घिउ बन्न पुग्यो । अन्ततः नेपाली भूटानीहरूले कि जेलमा आराम गर्नुपर्ने, कि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने, कि खुरुक्क देश छोड्नुपर्ने भयो । नेपाली भूटानीहरू एकीकृत रूपमा एउटै विकल्पमा अगाडि जान सकेनन । लगभग अढाइ लाख नेपालीहरूले अन्तिम विकल्प रोज्न पुगे, जुन भुटान सरकारले चाहेको थियो । जसमा भारतको आसाम, सिक्किम, पश्चिम बङ्गाल आदि क्षेत्रतिर लागे भने लगभग लाखको हाराहारीमा भारतको जबरजस्तीको कारण नेपाली भूमिमा प्रवेश गरे ।

माथिको तस्वीरले स्पष्ट देखाउँछ-भूटानी शरणार्थी समस्या प्रजातन्त्र र मानवअधिकारसँग गाँसिएको छ । समस्यालाई निकास दिनको १५ औँ वार्तारूपी झाँकीहरू प्रस्तुत भइसके पनि कुनै माखो मर्न सकेको छैन । निश्कर्षमा भन्नुपर्दा वार्ता भुराभुरीको टोपी लुकाइ खेलजस्तै नै रह्यो । भूटानले आफ्नो छलकपटको उत्कृष्टता राम्ररी प्रदर्शन ग-यो, तर नेपालले केवल भूटानकै छलकपटमा मुन्टो हल्लायो । त्यसैको परिणति अहिलेको जटिल अवस्था हो । स्थिति यो रूप लिइरहेको अवस्थमा अमेरिकाले ६० हजार शरणार्थी आफ्नो देशमा लैजाने हल्ला चलायो र आधारको रूपमा मानवीय पक्षलाई उभ्याइयो । जबकि अहिलेसम्म नेपाल सरकारलाई यस सम्बन्धमा न कुकुनै आधिकारिक जानकारी छ, न कुनै दिन बसेर भलाकुसारी नै भएको छ, न शरणार्थी प्रतिनिधिहरूको मतलाई समावेश गरिएको छ, न भारत र भूटानसँग बसेर गरिएका प्रयत्नहरूको सूची नै बाहिर निकालिएको छ ? नेपालले ससम्मान स्वदेश फिर्तीको विकल्पलाई भरपर्दो समाधानको रूपमा उभ्याएको भनाइ उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री केपी ओलीले शरणार्थीका प्रतिनिधिहरूसँग कात्तिक १६ को भेटघाटमा भएको कुराकानीले पनि प्रष्ट्याउँछ ।

अतः प्रजातन्त्र र मानवअधिकारलाई पछाडि धकेली निरङ्कुशतालाई अगाडि उभ्याएको विकल्प समस्याको सक्कली निराकरण हुन सक्दैन । सतही गृहकार्यको आधारमा निदान गर्न खोजिएको समस्या त्यति सोझो छैन, जति सोचिएको छ । समस्याभित्र गुजुल्टाहरू प्रशस्तै छन् । अमेरिकी घोषणा सिकन्दरको गाँठो छिनाल्ने तरबार बन्ने कुरामा यत्रतत्र शङ्कका बाक्ला मुस्लाहरू मडारिएका छन । समाधानको गोरेटो खन्ने नाममा यस प्रयत्नले निरङ्कुशताको धुवाँमा गुम्सिन पुगेका भुटानका बन्दीहरूको थप अवस्था के होला ? केहीहरू मात्र शरणार्थी हुन सक्छन्, बाँकी सबै अपराधीहरूको जुलुस हो भन्ने विगतको भूटानी भनाइलाई यस भनाइले अनुमोदन गर्दैन र ? यस कदमले शरणार्थीहरूबीच जन्मने घृणा र आक्रोशको सिकार बन्नबाट प्रजातान्त्रिक र मानवअधिकार आन्दोलन जोगिन सम्भव छ ? के यो बाटोबाट परिवारका सदस्यहरू ओल्लो क्षितिज र पल्लो क्षितिजको रहने अवस्थालाई नकार्न सकिन्छ ? मानवीय संवेदनाको पुराण हाल्नेले प्रजातान्त्रिक र मानवअधिकारका मूल्यामान्यतालाई रेटन मिल्छ ? जबकि प्रजातन्त्र र मानवअधिकारको न कुनै सीमा हुन्छ, न कुनै रङ, न वर्ण...। यस्ता धेरै उत्तरविहीन सवालहरू छट्पटाइरहेका अवस्थाले स्वदेश फिर्तीको बाटो खन्ने थप प्रत्यन्त गर्नुपर्छ कि ! किनकि बाहिर आकर्षक र सस्तो देखिए पनि अन्ततः यो बाटो जिग्मे र जिग्मे प्रवृतिको लागि बाँदरलाई लिस्नो बन्ने प्रशस्त सम्भावनाहरूलाई काँधमा बोकेको छ ।

kailash.siwakoti@gmail.com



source: Nepaljapan.com

No comments:

Post a Comment