अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आप्रवासन सम्बन्धी एक आदेशका कारण नेपालमा रहेका भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित भएको छ ।
दमकस्थित एकजना पुनर्वास अधिकारीले करिव चार महिनाका लागि भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित हुने बताएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले अमेरिकामा आप्रवासनका लागि १८ माघमा झापाबाट काठमाडौं लैजाने तयारीमा राखेको भुटानी शरणार्थीलाई १७ माघमा अमेरिका पुनर्वासको कार्यक्रम हालका लागि स्थगन भएको सूचना दिएको छ ।
४१ वर्षीया कलिमाया मगर ६ सदस्यीय परिवारकासाथ अमेरिका जानका लागि बेलडाँगी १ शरणार्थी शिविरबाट १८ माघ विहान काठमाडौंका लागि उडने तालिकामा थिइन् ।
१७ माघमा उनीहरुको अन्तिम स्वास्थ्य जाँच गराइसकेको मगर परिवारलाई काठमाडौंस्थित आइओएमको ट्रान्जिट हाउसमा केहि दिन बसेर २३ माघमा अमेरिकाको भरमाउण्ट राज्यको वर्लिङटन शहर लगिंदै थियो ।
अत्यावश्यक सामग्रीको गुण्टा कसिसकेको परिवार एक्कासी पुनर्वास स्थगन हुँदा समस्यामा परेको छ ।
“खुट्टा उचालिसकेका थियौं” कलिमाया भन्छिन्, “एक्कासी रोकिनुपर्दा मनमा चिन्ता बढेको छ ।” कलिमायाका बिबाहित छोराछोरी यसअघि नै अमेरिकाका बिभिन्न ठाँउमा पुनर्वास भइसकेका छन् ।
निर्वाचन अघिदेखि नै अमेरिका जान चाहने आप्रवासीहरु प्रति कडा अभिव्यक्ति दिँदै आएका ट्रम्प निर्वाचित भएसँगै शरणार्थी पुनर्वास स्थगन भएको हो ।
यसैबीच शिबिरस्थित पुनर्वास सूचना पाटीमा पुनर्वास सहयोग केन्द्र, अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएम र अमेरिकी सरकारका तर्फबाट टाँस गरिएको सुचनामा ३ फेब्रुअरीपछि अर्को सूचना नआएसम्मको लागि शरणार्थीको अमेरिका पुनर्वास स्थगन भएको खुलाइएको छ ।
हालसम्ममा पुनर्वासमा गएका १ लाख ७ हजार भुटानी शरणार्थीमध्ये करिव ९२ हजार अर्थात ८७ प्रतिशत भन्दा बढि भुटानी अमेरिका पुगेका छन् ।
सन् २००७ मा शुरु भुटानी शरणार्थीको पुनर्वास प्रकृया मुताविक ४ मार्च २००८मा पुनर्वास शरणार्थीको पहिलो खेप नेपालबाट अमेरिका उडेको थियो ।
गोपाल गडतौला, झापा
गोपाल गडतौला, झापा
No comments:
Post a Comment