The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

भूटानी शरणार्थीमा पुनर्वासको आशा

http://archive.himalkhabar.com/71731



–गोपाल गडतौला, झापा
देवीमाया र एन्जिला । तस्वीरहरुः गोपाल गड्तौला
५ जनवरी २०१० को साँझ एक जना अधबैंसे महिला र दुई साताकी नवजात शिशुकी आमा बास माग्न आएको देवीमाया सार्कीलाई अझै सम्झना छ । शिविर पूर्व–उत्तरको डाँडापारिबाट बिरामी शिशु जँचाउन स्वास्थ्य केन्द्र आउँदाआउँदै रात परेको उनीहरूले बताएका थिए । त्यो रात उनीहरू झापा शान्तिनगर गाविसस्थित टिमाई शरणार्थी शिविर सेक्टर डी–५ को ४६ नम्बरको उनको छाप्रोमा बसेका थिए । भोलिपल्ट बिहान शिशु कोक्रामा छाडेर दाँत माझ्ने ब्रस र मञ्जन किन्न पसल लागेका उनीहरू फर्किएनन् । त्यसपछि एन्जिला नाम राखिएकी ती शिशु देवीमायाका छोराछोरी जिपेश र अप्सनासँगै हुर्किरहेकी छिन् ।
ती बालिकाकै कारण देवीमायाको परिवारले भने ठूलो सास्ती व्यहोरिरहेको छ । पुनर्वासमा तेस्रो देश जान ६ वर्षअघि इच्छापत्र भरेकी देवीमायाका घर र माइतीतिरका दर्जन बढी आफन्त अमेरिका पुगिसक्दा पनि देवीमायाको परिवार भने एन्जिलाकै कारण जान पाएको छैन । काखमा लुटपुटिएकी एन्जिलालाई मुसार्दै देवीमायाले भनिन्, “युएनएचसीआर र आईओएमका सरहरूले यसलाई लिएर जान पाइँदैन भनेका छन् ।” कान्छी छोरी अप्सना दुई वर्ष पुग्दै गर्दा आएकी एन्जिलालाई दूध खुवाएर हुर्काएकाले छाड्न नसकेको तथा सँगै लैजान पनि नपाएको उनको भनाइ छ । भूटानी शरणार्थीले पुनर्वासमा अरूलाई लैजान नपाउने प्रावधान छ ।
पुनर्वासमा गएर शरणार्थीको संख्या घटेपछि टिमाई शिविरलाई अहिले ६० किलोमिटर पश्चिम झापाको बेलडाँगी शिविरमा मिसाइएको छ । देवीमाया र उनका मिस्त्री पति ओमराजको परिवार अहिले बेलडाँगी–२ शरणार्थी शिविर सेक्टर बी–२ को १०२ नम्बर छाप्रोमा बस्छ ।
धेरै छन्, जान नपाउने
विभिन्न कारणले प्रक्रिया अवरुद्ध भएर पुनर्वासमा जान नपाएका शरणार्थी अरू पनि छन् । मोरङको शनिश्चरे शरणार्थी शिविर सेक्टर के–२ छाप्रो नम्बर ५ का रामकुमार बानियाँ (३०) तिनैमध्येका एक हुन् । चार वर्षअघि शनिश्चरे स्थानान्तरण हुनुअघि १४ जनाको परिवारसाथ पूर्वी झापाको टिमाई शरणार्थी शिविर सेक्टर डी–४ को २९ नम्बर छाप्रोमा बस्ने उनलाई गत वर्ष अमेरिकी गृहसुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी) अन्तर्गतको अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले २२ मार्च २०१३ मा बनाइएको कागजात थमायो । जसमा उनले आतंककारी संगठनमा संलग्न रही चन्दा उठाएकाले अमेरिका पुनर्वासका लागि अयोग्य रहेको व्यहोरा लेखिएको थियो । (हे. नोटिस अफ इनइलिजिबिलिटी फर रिसेटलमेन्ट) उनका बाबु धनकुमार, आमा भुमाश्वरी, पाँच दाजुभाइ र चार दिदीबहिनीको परिवारका २७ जना भने अहिले अमेरिकाको ओहायो राज्यमा पुनर्वास गएका छन् ।
पुनर्वासका लागि अयोग्य भएपछि पत्नी पूर्णमाया सम्बन्धविच्छेद गरी छोरो अप्सनलाई लिएर शिविरमा अलग्गै बस्न थालिन् । पूर्णमायाको भने पुनर्वास प्रक्रिया चलिरहेको छ । शनिश्चरे शिविरमा किराना पसल चलाइरहेका रामकुमारले पनि लगत्तै झापा खुदुनाबारी साधुटारकी कल्कल्पना गुरुङ (२३) सँग विवाह गरे ।
टिमाई शिविरमा रहँदा उनी ३ फागुन २०६४ को अपराह्न ४ बजे शिविरकै सात जना भूटानी शरणार्थीसँग चन्दा लिइरहेको वेला पक्राउ परेका थिए । झापा जिल्ला अदालतबाट ११ दिनपछि रु.२२५ जरिवाना तिरी उनी मुक्त भए भने सोही अभियोगमा फरार भएका अर्का शरणार्थी गोविन्द रिजाल (३८) ले भाइ मार्फत रु.५०० जरिवाना तिरेपछि मुक्ति पाए । अहिले शनिश्चरे शिविरमा बसिरहेका उनको पनि पुनर्वास प्रक्रिया अवरुद्ध छ । उनका दाजुभाइ भने अमेरिकाको कोलोराडो र पेन्सिलभेनिया पुनर्वास भइसकेका छन् ।
वितेको २३ वर्षमा विभिन्न अभियोगमा सजाय भोगेका २०० भूटानी शरणार्थीको पुनर्वास प्रक्रिया रोकिएको गृहमन्त्रालय अन्तर्गतको शरणार्थी समन्वय एकाई बेलडाँगी–२ का शिविर सुपरीवेक्षक यज्ञ निरौला बताउँछन् ।
रामकुमार बानियाँ र कान्छी श्रीमती कल्पनाका साथ ।
लीलाप्रसाद (३१) र सीता भुजेल (२७) को पनि पुनर्वास रोकिएको छ । पाल्पाको हेक्लाङ गाविस माइती भएकी सीताको हेक्लाङकै एउटा चर्चमा काम गरिरहेका बेलडाँगी–१ सेक्टर ए–१ छाप्रो नम्बर ५१ का लीलाप्रसादसँग सन् २००७ को अन्त्यतिर बिहे भएको थियो । त्यसको चार वर्षपछि शिविर आउँदा लीलाप्रसादकी जेठी श्रीमती कर्णमाया सात वर्षको छोरो लिएर पुनर्वासमा अमेरिका गइसकेकी थिइन् । करीब १६ वर्ष शिविरमा बसेका लीलाप्रसादको पहिलो विवाह र सन्तानको विवरण शिविरस्थित शरणार्थी समन्वय एकाइ र राष्ट्रसंघीय शरणार्थी आयोग लगायत सबै सहायता संस्थाको रेकर्डमा थियो । “तेस्रो देश गइसकेकी पत्नीसँग सम्बन्धविच्छेद गरेको कागज नआउन्जेल पुनर्वास जान पाइँदैन भनेका छन्”, १९ जेठ दिउँसो सीतासाथ शिविरमा भेटिएका लीलाप्रसादले भने । उनका बाबु गंगाराम अमेरिकाको टेक्सासमा छन् भने आमा मनमाया न्यूयोर्कमा ।
जालसाझी वा किर्ते गरेको, आतंककारी तथा आपराधिक पृष्ठभूमि भएको र बहुविवाह गरेको प्रमाणित भएमा तेस्रो मुलुकले पुनर्वासमा लैजाँदैनन् । “पुनर्वास गर्ने देशको कानूनले स्वीकार्दा मात्र जान पाउँछन्”, भूटानी शरणार्थी पुनर्वास प्रक्रियामा संलग्न एक जना अधिकारीले भने । बेलडाँगी–२ का सुपरीवेक्षक यज्ञ निरौला पनि पुनर्वासमा लैजाने मुलुकका छानबिन अधिकारीले त्यस्ता अभियोग लागेका प्रति नरम व्यवहार नदेखाउने गरेको बताउँछन् ।
शिविरमा नयाँ परिवार
भूटानबाट खेदिएर नेपालमा शरणार्थी बनेको दुई दशकपछि पनि केही भूटानीहरू राष्ट्रसंघीय सहायता शिविरमा आइरहेका छन् । बुद्धहाङ सुब्बा (३८) र उनकी पत्नी पञ्चमाया (४४) ६ जनाको परिवारसाथ २०६९ मा बेलडाँगी–१ शरणार्थी शिविर आएका छन् । पुख्र्यौली थलो दक्षिण भूटानको दागना जिल्ला अन्तर्गतको गोपिनी रहेको बताउने उनीहरू भूटानबाट खेदिएपछि १५ वर्ष सिक्किममा र ६ वर्ष इलामको लारुम्बामा अँधिया खेती गरेर बसेको बताउँछन् ।
सुकबहादुर र उनकी श्रीमती नीरा तथा आमा पञ्चमाया ।
१८ नोभेम्बर २०१३ मा बुद्धहाङले बेलडाँगी–१ शरणार्थी समन्वय एकाइलाई लामो समय शिविर बाहिर बस्न गाह्रो भएकोले आएको निवेदन दिए । उनको परिवारमा पत्नी, भाइ बलबहादुर, छोराहरू सुकबहादुर र रामबहादुर तथा बुहारी नीरा छन् । सुकबहादुरकी पत्नी नीराको माइती ताप्लेजुङको लिम्बुदिन हो । कान्छो छोरो रामबहादुर शिविरको विद्यालयमा ९ कक्षामा पढ्छन् । उनीहरू अहिले पुनर्वास भइसकेका गर्जमान पौडेलको बेलडाँगी–१ सेक्टर डी–४ को ३७० नम्बरको छाप्रोमा बस्छन् । तर, शरणार्थी समन्वय एकाइका शिविर सुपरीवेक्षक हरिप्रसाद पोखरेलका अनुसार, उनीहरूलाई पुनर्वासमा जान सजिलो छैन ।
दर्तामा छुटेको भन्दै सन् २०१२ मा निवेदन दिएका र ११ दिनसम्म आमरण अनशनमा बसेका १९७४ मध्ये शरणार्थी समन्वय एकाइले १८०० लाई भूटानी शरणार्थीमा दर्ता गरेको थियो । फेरि दर्ता खुल्ने आशामा अहिले पनि १०० भन्दा बढी भूटानी शरणार्थी शिविर र शिविर बाहिर पर्खेर बसेका छन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस


विदेशिन सम्बन्धविच्छेद

http://nepalihimal.com/article/2301
- गोपाल गडतौला, झापा

बहुविवाहका कारण पुनर्वास जान नपाउने हुनाले भूटानी शरणार्थी महिला धमाधम सम्बन्धविच्छेद गर्दैछन्।

तस्वीरहरुः गोपाल गडतौला
पतिसँग सम्बन्धविच्छेद गर्न वकील दीपक निरौलाको कार्यालयमा पुगेकी तुलसीमाया विश्वकर्मा।
आठ छोराछोरी र आठै जना नातिनातिना भएकी तुलसीमाया विश्वकर्मा (६६) पति सन्तवीर (७०) र सौता बुद्धमायासँग झापाको बेलडाँगी–१ मा रहेको शरणार्थी शिविरको सेक्टर सी–२ अन्तर्गत १८७ नम्बर छाप्रोमा २३ वर्षदेखि बसिरहेकी छिन्। पतिसँग सम्बन्धविच्छेद गर्न ९ माघमा वकील दीपक निरौलाको कार्यालयमा पुगेकी उनलाई शुरूमा पतिलाई लगाउने आरोप भन्न अप्ठ्यारो भयो। पछि उनैसँगको सल्लाह अनुसार श्रीमान् र सौतासँग मिलेर बस्न नसकेको व्यहोराको उजुरी वकीलले तयार पारे।
अमेरिका लगायत तेस्रो देश पुनर्वास जान पतिसँग सम्बन्धविच्छेद गर्दै थिइन्, तुलसीमाया। ती मुलुकमा एक जनाले एक समयमा एउटासँग मात्र विवाह गरेको हुनुपर्ने कानून रहेकाले बहुविवाह गरेका भूटानी शरणार्थीहरू अहिले धमाधम सम्बन्धविच्छेद गर्दैछन्। सम्बन्धविच्छेद गराउन सन् २०१३ मा झ्ापा जिल्ला अदालतमा १७० महिलाले मुद्दा दर्ता गराएका थिए। सन् २०१२ मा पनि जिल्ला अदालतमा १२२ भूटानी महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका थिए।
झ्ापा बारको शरणार्थीका लागि कानूनी सहायता एकाइका अनुसार सम्बन्धविच्छेदका लागि दिइएका सबै मुद्दामा दाबी अनुसारकै फैसला आएको थियो। यस्ता मुद्दामा सरदर तीनदेखि पाँच महीनामा फैसला आउने गर्छ।
शरणार्थी उच्चायोगको सहयोग
सम्बन्धविच्छेदको परामर्श गर्न चन्द्रगढी पुगेकी बेलडाँगीकी मंगलीमाया तामाङ।
भूटानी शरणार्थी महिलालाई सम्बन्धविच्छेदको मुद्दा गर्न झापा बार एसोसिएसनले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोगको सहयोगी संस्था बनेर सघाइरहेको छ। बारले हरेक शिविरमा एक जना वकील रहेको कानूनी सहायता इकाई स्थापना गरेको छ। शान्ता पाठक बेलडाँगी–१ को शिविरमा खटिएकी वकील हुन्। मुद्दा गर्दा शिविरबाट हरेक पटक अदालत जान प्रतिव्यक्ति रु.२२० दिइन्छ भने मुद्दा हेर्ने वकीलले रु.३ हजार अग्रिम आयकर कट्टा गरी प्रति मुद्दा रु.१७ हजार झापा बारबाट पाउँछन्।
सन् १९९० मा भूटानमा राजनीतिक आन्दोलन शुरू भएपछि सरकारको दमन खेप्न नसकेर नेपालमा शरणार्थी भएका नेपालीभाषी भूटानीलाई सन् २००८ देखि अमेरिका र यूरोपका आठ देशले लैजान थालेका हुन्। शरणार्थीलाई उनीहरूकै देशमा फर्काउनु सबैभन्दा उपयुक्त भए पनि भूटानले फर्काउन नमानेपछि र नेपालले पनि सधैंका लागि बास दिने वा नदिने निधो नगरेपछि शरणार्थीका लागि तेस्रो विकल्प दिइएको हो।
राजाका समेत चार वटा पत्नी भएको भूटानमा बहुविवाह सामान्य मानिन्छ। शिविर बाहिरका नेपाली वा गैरभूटानीसँग बिहे गरेका भूटानी महिलाले पनि पतिसँग सम्बन्धविच्छेद गरेपछि मात्र भूटानी शरणार्थीको पहिचानसाथ पुनर्वासमा जान पाउँछन्। सम्बन्धविच्छेद नगर्ने हो भने उनीहरू पतिको देशको नागरिक बन्छन्। भूटानीसँग बिहे गरेका नेपाली वा गैरभूटानी महिलाले भने आफ्नो मुलुकको राहदानी बनाई पतिसँग पुनर्वासमा जान पाउने व्यवस्था छ। तर यो तरिकाबाट राहदानी बनाउन र पुनर्वास जान लामो प्रक्रिया पूरा गर्नुपर्छ।
धमाधम सम्बन्धविच्छेद
कानून व्यवसायी सुभद्रा ढकालसँग परामर्श गर्दै बेलडाँगी–१ की आशमाया राई।
६ माघमा वकील शान्ता पाठकको च्याम्बरमा थिइन्, काखमा तीनवर्षे छोरी बोकेकी बेलडाँगी–१ शरणार्थी शिविरकी मञ्जु डोल्मा तामाङ र लैंगिक समता कार्यकर्ता नरमाया। शनिश्चरे शिविरमा बस्ने पति जीतबहादुर बच्चा जन्मिनुअघि बेपत्ता भएपछि तीन वर्षदेखि माइत बसेकी मञ्जु सम्बन्धविच्छेद गरेर पुनर्वास जाने योजनामा छिन्। अदालतले बकपत्रको लागि दिएको कागज बोकेकी उनले भनिन्, “एकतर्फी सम्बन्धविच्छेदको मुद्दा भएकाले छिट्टै फैसला हुन्छ होला।”
पति बिर्खबहादुर (४०) पाँच वर्षदेखि बेपत्ता भएपछि बेलडाँगी―१ की फूलमाया तामाङ (४०) दुई जना छोराछोरीसाथ शिविरमा बस्छिन्। पुनर्वासमा जान बेपत्ता पतिसँग सम्बन्धविच्छेद गर्ने निधोमा पुगेकी उनी ९ माघमा झ्ापा जिल्ला अदालतमा वकील सन्तोष प्रसाई मार्फत सम्बन्धविच्छेदको कागजात तयार पार्दै थिइन्।
बेलडाँगी–१ को शरणार्थी शिविर सेक्टर डी–४ की चार छोराछोरीकी आमा र चार नातिनातिनाकी हजुरआमा मंगलीमाया तामाङ (५१) पनि पति सनबहादुरसँग सम्बन्धविच्छेद गर्न ९ माघमा वकीलसँग चन्द्रगढीमा परामर्श गर्दै थिइन्। उनकै सहमतिमा १६ वर्षअघि घर भित्रिएकी सौता बुद्धमाया र पतिसँग उनी सगोलमा बस्छिन्। बेलडाँगी–१ की आशमाया राई (३४) पनि ९ माघमै दमक–१० घर भएका श्रीमान् पवन लिम्बूसँग सम्बन्धविच्छेद गर्न चन्द्रगढीमा वकील सुभद्रा ढकालसँग परामर्श गर्दै थिइन्।
पुनर्वासमा अमेरिका जान लागेका यी महिलालाई मुद्दा गर्न सघाएकी बेलडाँगी शरणार्थी शिविरकी लैंगिक समता नामको संस्थाकी कार्यकर्ता नरमाया गुरुङले पनि गत वर्ष दमक–५ मा घर भएका नेपाली पति हेमन्त राईसँग सम्बन्धविच्छेद गरेकी हुन्। पतिले विवाह दर्ता नगरिदिएको र जेठी पत्नीलाई ल्याएर आफूलाई शारीरिक यातना दिएको कारण सम्बन्धविच्छेद गर्नुपरेको उनी बताउँछिन्। लैंगिक समताले शिविरका महिलामाथि हुने लैगिक र कानूनी समस्यामा सहयोग गर्छ।

सुकिलो जीवन

http://nepalihimal.com/article/3168
- गोपाल गडतौला म्यानचेस्टरबाट फर्केर

बेलायत पुनर्वास भएका नेपाली भाषी भूटानी शरणार्थी भविष्यप्रति उत्साही छन्।

तस्वीरहरुः गोपाल गडतौला
म्यानचेस्टरमा पुनर्वास भएका भूटानी ।
भान्सामै अटुट रूपमा तातो–चिसो पानी आउने धारा। नुहाउन टब। लुगा धुन वाशिङ मेशीन। खाना र फलफूलले भरिभराउ रेफ्रिजेरेटर। विशाल टेलिभिजन स्त्रि्कन अगाडि बाक्ला सोफा–सेट। घरलाई मौसम अनुसार न्यानो र चिसो पार्ने उपकरण। आएको पाँच वर्ष पुग्नै लाग्यो, झिमिक्क बिजुली गएको थाहा छैन। परिवारका सदस्यलाई अलग–अलग कोठा पुग्ने तीनतले घर। आँगनमा निजी मोटर। बेलायतको म्यानचेस्टर शहरमा पर्ने अस्टर्नका प्रेम गिरीको निवास हो, यो।
४२ वर्षीय गिरीलाई बरु सेफिल्ड युनिभर्सिटीबाट एकाउन्टिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर सकेपछि ड्राइभिङ्ग लाइसेन्स लिन निकै गाह्रो भयो। अब उनको लागि जागीरको संभावना पनि फराकिलो भएको छ। अहिले उनी एउटा कम्पनीको लागि शेयर बजारको उतारचढाव हेरेर लगानी जोखिम विश्लेषण गरिदिने काम गरिरहेका छन्। “धन्न आइएछ”, हिमाल सँग गिरीले भने, “नेपालको शिविरमा १९ वर्ष बिताएको शरणार्थी जीवनसँग यहाँको अवस्था तुलना हुनै सक्दैन।”
दक्षिणी भूटानको साम्ची जिल्ला अन्तर्गत सिब्सु ब्लकमा पुर्ख्यौली थलोकिलो भएका गिरी सन् १९९० ताका सरकारी दमनमा परेर जन्मभूमिबाट बाहिरिएका एक लाखभन्दा बढी नेपाली भाषी भूटानीमध्येका एक हुन्। नेपालस्थित राष्ट्रसंघीय शरणार्थी शिविरमा करीब दुईदशक बिताउँदा गिरीले आधापेट खाएर, ट्युसन पढाएर पनि वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका थिए, जसले उनलाई बेलायतको युनिभर्सिटीबाट डिग्री लिन सजिलो भयो। उनकी श्रीमती सावित्राको दिन चाहिं एकवर्षकी कान्छी छोरी प्रियासा र घरको हेरचाहमा बितिरहेको छ। गिरी दम्पतीका तीन छोरी छन्।
सबै खुशी
अस्टर्नका प्रेम गिरी छोरी प्रेसिका (११) लाई स्कूल लैजान ल्याउन कारमै आउजाउ गर्छन् ।
गिरी दम्पतीका निकट छिमेकी पण्डित तारा निरौला (४६) को परिवार पनि बेलायतमा निकै सन्तुष्ट जीवन बिताइरहेको छ। उनको जजमानी पेशा मज्जाले मौलाएको छ। न्वारान, तिथि–श्राद्ध र अरू पूजाआजाका लागि उनी म्यानचेस्टरभरका एक्ला पण्डित हुन्। पूर्वी मोरङको शनिश्चरे शरणार्थी सेक्टर–ए ३ मा २० वर्ष बिताएको पण्डित निरौलाको पाँच जनाको परिवार बेलायतमा अभ्यस्त बनिसकेको छ। “यहाँका नेपाली र भारतीय हिन्दूसँग घुलमिल हुन समय लागेन”, पण्डित निरौलाले भने।
गिरी र निरौलाको घरदेखि पाँच मिनेटको पैदल दुरीमा जुनाकुमार राई (३७) को घर छ, जो अहिले भाषा सिकिरहेका छन्। कामको लागि तीन चार ठाउँमा उनको निवेदन पुगेको छ। परिवारका चार सदस्यसहित उनी बेलडाँगी शरणार्थी शिविरको सेक्टर–एफ ३ को ६९ नम्बरको छाप्रोबाट अस्टर्न पुनर्वास भएको डेढ वर्ष पुग्नै लाग्यो। काम नपाउन्जेल सरकारले राईको परिवारलाई जनही मासिक २१२ पाउण्ड भत्ता दिइरहेको छ। “केटाकेटीहरूको पढाइ निःशुल्क छ”, राईले भने, “यहाँ ८० पाउण्डले एकजनालाई महीनाभर राम्ररी खान पुग्छ।”
यसैगरी, अस्टर्नबाट २० मिनेटको मोटर यात्रापछि पुगिने रोस्डेलको फकल्याण्ड स्ट्रिटस्थित १७ नम्बर घर गंगाबहादुर बुढाथोकी (५५) को हो। बुढाथोकी परिवारमा ६ सदस्य छन्। डेढ वर्षअघि कपडा कारखानामा काम पाएका माइला छोरा अमित (२५) ले कार पनि जोडिसके। परिवारका अरूले भत्ताबाटै ल्यापटप र ग्याजेट किनेका छन्। २८ असार दिउँसो गंगाबहादुर र श्रीमती पवित्रा बुढाथोकी करेसाबारीमा सागसब्जी गोडिरहेका थिए। “समर सिजन परेर भाषा कक्षामा विदा भएकोले अहिले पूरा फुर्सदमा छौं”, बुढाथोकीले भने।
जुनाकुमार राई र सञ्चमाया।
वासिङ्गटन रोडमा अर्का भूटानी शरणार्थी कमलकुमार गुरुङ (३६) ले २९१ नम्बरको चार बेडरुमवाला घर पाएका छन्। तीन वर्षअघि बेलायत पुनर्वास भएको चार सदस्यीय गुरुङ परिवारका मूली कमलकुमारले खाद्य उद्योगमा काम पाएका छन्। उनको दैनिक कमाइ ५१ पाउण्ड छ र मासिक तीन/चार दिन ओभरटाइम पाउँछन्। मासिक साढे चारसय पाउण्ड घरभाडा तिरेर बाँकी रहेको कमाइले परिवारको खर्च सहजै धानिन्छ। कमल भन्छन्, “सुकिलो भइएको छ, मिठोमसिनो खाइएको छ।”
भूटानी शरणार्थीलाई स्वदेश फर्काउन नेपाल र भूटान सरकारबीचको १५औं वार्ता पनि असफल भएपछि सन् २००८ देखि अमेरिका र यूरोप पुनर्वास गर्न थालिएको थियो। नेपालबाट स्वेच्छिक पुनर्वास भएका ९१ हजार २२४ हजार भूटानी शरणार्थीमध्ये ७७ हजार १२१ अमेरिका, ५ हजार ९४० क्यानडा, ५ हजार १९० अष्ट्रेलिया, ८७१ न्युजिल्याण्ड, ८६८ डेनमार्क, ५५० नर्वे, ३२६ नेदरल्याण्ड र ६० परिवारका ३५८ जना बेलायतको म्यानचेस्टरका विभिन्न ठाउँमा छन्।