The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

भूटानी शरणार्थीमा पुनर्वासको आशा

http://archive.himalkhabar.com/71731



–गोपाल गडतौला, झापा
देवीमाया र एन्जिला । तस्वीरहरुः गोपाल गड्तौला
५ जनवरी २०१० को साँझ एक जना अधबैंसे महिला र दुई साताकी नवजात शिशुकी आमा बास माग्न आएको देवीमाया सार्कीलाई अझै सम्झना छ । शिविर पूर्व–उत्तरको डाँडापारिबाट बिरामी शिशु जँचाउन स्वास्थ्य केन्द्र आउँदाआउँदै रात परेको उनीहरूले बताएका थिए । त्यो रात उनीहरू झापा शान्तिनगर गाविसस्थित टिमाई शरणार्थी शिविर सेक्टर डी–५ को ४६ नम्बरको उनको छाप्रोमा बसेका थिए । भोलिपल्ट बिहान शिशु कोक्रामा छाडेर दाँत माझ्ने ब्रस र मञ्जन किन्न पसल लागेका उनीहरू फर्किएनन् । त्यसपछि एन्जिला नाम राखिएकी ती शिशु देवीमायाका छोराछोरी जिपेश र अप्सनासँगै हुर्किरहेकी छिन् ।
ती बालिकाकै कारण देवीमायाको परिवारले भने ठूलो सास्ती व्यहोरिरहेको छ । पुनर्वासमा तेस्रो देश जान ६ वर्षअघि इच्छापत्र भरेकी देवीमायाका घर र माइतीतिरका दर्जन बढी आफन्त अमेरिका पुगिसक्दा पनि देवीमायाको परिवार भने एन्जिलाकै कारण जान पाएको छैन । काखमा लुटपुटिएकी एन्जिलालाई मुसार्दै देवीमायाले भनिन्, “युएनएचसीआर र आईओएमका सरहरूले यसलाई लिएर जान पाइँदैन भनेका छन् ।” कान्छी छोरी अप्सना दुई वर्ष पुग्दै गर्दा आएकी एन्जिलालाई दूध खुवाएर हुर्काएकाले छाड्न नसकेको तथा सँगै लैजान पनि नपाएको उनको भनाइ छ । भूटानी शरणार्थीले पुनर्वासमा अरूलाई लैजान नपाउने प्रावधान छ ।
पुनर्वासमा गएर शरणार्थीको संख्या घटेपछि टिमाई शिविरलाई अहिले ६० किलोमिटर पश्चिम झापाको बेलडाँगी शिविरमा मिसाइएको छ । देवीमाया र उनका मिस्त्री पति ओमराजको परिवार अहिले बेलडाँगी–२ शरणार्थी शिविर सेक्टर बी–२ को १०२ नम्बर छाप्रोमा बस्छ ।
धेरै छन्, जान नपाउने
विभिन्न कारणले प्रक्रिया अवरुद्ध भएर पुनर्वासमा जान नपाएका शरणार्थी अरू पनि छन् । मोरङको शनिश्चरे शरणार्थी शिविर सेक्टर के–२ छाप्रो नम्बर ५ का रामकुमार बानियाँ (३०) तिनैमध्येका एक हुन् । चार वर्षअघि शनिश्चरे स्थानान्तरण हुनुअघि १४ जनाको परिवारसाथ पूर्वी झापाको टिमाई शरणार्थी शिविर सेक्टर डी–४ को २९ नम्बर छाप्रोमा बस्ने उनलाई गत वर्ष अमेरिकी गृहसुरक्षा विभाग (डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी) अन्तर्गतको अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले २२ मार्च २०१३ मा बनाइएको कागजात थमायो । जसमा उनले आतंककारी संगठनमा संलग्न रही चन्दा उठाएकाले अमेरिका पुनर्वासका लागि अयोग्य रहेको व्यहोरा लेखिएको थियो । (हे. नोटिस अफ इनइलिजिबिलिटी फर रिसेटलमेन्ट) उनका बाबु धनकुमार, आमा भुमाश्वरी, पाँच दाजुभाइ र चार दिदीबहिनीको परिवारका २७ जना भने अहिले अमेरिकाको ओहायो राज्यमा पुनर्वास गएका छन् ।
पुनर्वासका लागि अयोग्य भएपछि पत्नी पूर्णमाया सम्बन्धविच्छेद गरी छोरो अप्सनलाई लिएर शिविरमा अलग्गै बस्न थालिन् । पूर्णमायाको भने पुनर्वास प्रक्रिया चलिरहेको छ । शनिश्चरे शिविरमा किराना पसल चलाइरहेका रामकुमारले पनि लगत्तै झापा खुदुनाबारी साधुटारकी कल्कल्पना गुरुङ (२३) सँग विवाह गरे ।
टिमाई शिविरमा रहँदा उनी ३ फागुन २०६४ को अपराह्न ४ बजे शिविरकै सात जना भूटानी शरणार्थीसँग चन्दा लिइरहेको वेला पक्राउ परेका थिए । झापा जिल्ला अदालतबाट ११ दिनपछि रु.२२५ जरिवाना तिरी उनी मुक्त भए भने सोही अभियोगमा फरार भएका अर्का शरणार्थी गोविन्द रिजाल (३८) ले भाइ मार्फत रु.५०० जरिवाना तिरेपछि मुक्ति पाए । अहिले शनिश्चरे शिविरमा बसिरहेका उनको पनि पुनर्वास प्रक्रिया अवरुद्ध छ । उनका दाजुभाइ भने अमेरिकाको कोलोराडो र पेन्सिलभेनिया पुनर्वास भइसकेका छन् ।
वितेको २३ वर्षमा विभिन्न अभियोगमा सजाय भोगेका २०० भूटानी शरणार्थीको पुनर्वास प्रक्रिया रोकिएको गृहमन्त्रालय अन्तर्गतको शरणार्थी समन्वय एकाई बेलडाँगी–२ का शिविर सुपरीवेक्षक यज्ञ निरौला बताउँछन् ।
रामकुमार बानियाँ र कान्छी श्रीमती कल्पनाका साथ ।
लीलाप्रसाद (३१) र सीता भुजेल (२७) को पनि पुनर्वास रोकिएको छ । पाल्पाको हेक्लाङ गाविस माइती भएकी सीताको हेक्लाङकै एउटा चर्चमा काम गरिरहेका बेलडाँगी–१ सेक्टर ए–१ छाप्रो नम्बर ५१ का लीलाप्रसादसँग सन् २००७ को अन्त्यतिर बिहे भएको थियो । त्यसको चार वर्षपछि शिविर आउँदा लीलाप्रसादकी जेठी श्रीमती कर्णमाया सात वर्षको छोरो लिएर पुनर्वासमा अमेरिका गइसकेकी थिइन् । करीब १६ वर्ष शिविरमा बसेका लीलाप्रसादको पहिलो विवाह र सन्तानको विवरण शिविरस्थित शरणार्थी समन्वय एकाइ र राष्ट्रसंघीय शरणार्थी आयोग लगायत सबै सहायता संस्थाको रेकर्डमा थियो । “तेस्रो देश गइसकेकी पत्नीसँग सम्बन्धविच्छेद गरेको कागज नआउन्जेल पुनर्वास जान पाइँदैन भनेका छन्”, १९ जेठ दिउँसो सीतासाथ शिविरमा भेटिएका लीलाप्रसादले भने । उनका बाबु गंगाराम अमेरिकाको टेक्सासमा छन् भने आमा मनमाया न्यूयोर्कमा ।
जालसाझी वा किर्ते गरेको, आतंककारी तथा आपराधिक पृष्ठभूमि भएको र बहुविवाह गरेको प्रमाणित भएमा तेस्रो मुलुकले पुनर्वासमा लैजाँदैनन् । “पुनर्वास गर्ने देशको कानूनले स्वीकार्दा मात्र जान पाउँछन्”, भूटानी शरणार्थी पुनर्वास प्रक्रियामा संलग्न एक जना अधिकारीले भने । बेलडाँगी–२ का सुपरीवेक्षक यज्ञ निरौला पनि पुनर्वासमा लैजाने मुलुकका छानबिन अधिकारीले त्यस्ता अभियोग लागेका प्रति नरम व्यवहार नदेखाउने गरेको बताउँछन् ।
शिविरमा नयाँ परिवार
भूटानबाट खेदिएर नेपालमा शरणार्थी बनेको दुई दशकपछि पनि केही भूटानीहरू राष्ट्रसंघीय सहायता शिविरमा आइरहेका छन् । बुद्धहाङ सुब्बा (३८) र उनकी पत्नी पञ्चमाया (४४) ६ जनाको परिवारसाथ २०६९ मा बेलडाँगी–१ शरणार्थी शिविर आएका छन् । पुख्र्यौली थलो दक्षिण भूटानको दागना जिल्ला अन्तर्गतको गोपिनी रहेको बताउने उनीहरू भूटानबाट खेदिएपछि १५ वर्ष सिक्किममा र ६ वर्ष इलामको लारुम्बामा अँधिया खेती गरेर बसेको बताउँछन् ।
सुकबहादुर र उनकी श्रीमती नीरा तथा आमा पञ्चमाया ।
१८ नोभेम्बर २०१३ मा बुद्धहाङले बेलडाँगी–१ शरणार्थी समन्वय एकाइलाई लामो समय शिविर बाहिर बस्न गाह्रो भएकोले आएको निवेदन दिए । उनको परिवारमा पत्नी, भाइ बलबहादुर, छोराहरू सुकबहादुर र रामबहादुर तथा बुहारी नीरा छन् । सुकबहादुरकी पत्नी नीराको माइती ताप्लेजुङको लिम्बुदिन हो । कान्छो छोरो रामबहादुर शिविरको विद्यालयमा ९ कक्षामा पढ्छन् । उनीहरू अहिले पुनर्वास भइसकेका गर्जमान पौडेलको बेलडाँगी–१ सेक्टर डी–४ को ३७० नम्बरको छाप्रोमा बस्छन् । तर, शरणार्थी समन्वय एकाइका शिविर सुपरीवेक्षक हरिप्रसाद पोखरेलका अनुसार, उनीहरूलाई पुनर्वासमा जान सजिलो छैन ।
दर्तामा छुटेको भन्दै सन् २०१२ मा निवेदन दिएका र ११ दिनसम्म आमरण अनशनमा बसेका १९७४ मध्ये शरणार्थी समन्वय एकाइले १८०० लाई भूटानी शरणार्थीमा दर्ता गरेको थियो । फेरि दर्ता खुल्ने आशामा अहिले पनि १०० भन्दा बढी भूटानी शरणार्थी शिविर र शिविर बाहिर पर्खेर बसेका छन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस


No comments:

Post a Comment