https://lhotsamsamachar.wordpress.com/2009/07/29/वर्षा-सुरु-भएपछि-अनिदोमा/
राजु अधिकारी, झापा साउन १४(नागरिक)- टिमाइस्थित भूटानी शरणार्थी शिविरका उमानाथ खनाल पानी दर्किन थालेपछि बालबच्चालाई घरभित्र हुलेर आफूचाहिँ धुरी चढ्छन्। ‘यता कि उता’ भन्दै धुरीबाट सोधेपछि खनालका छोराछोरीहरु घरभित्रैबाट पानी चुहिने ठाउँ देखाइदिन्छन्। अनि उनी प्वाल परेको ठाउँमा टालटुल गर्छन् । यसरी बर्खा काटेको उनीहरुले दुई वर्ष बितिसक्यो।
पाँच वर्षमा एकपटक मात्र छाना फेरिदिने दाताको आश्वासनलाई शरणार्थीहरुले पर्खिंदा वर्षायाममा सास्ती खेप्ने बाध्यता दोहोरिने गरेको हो। तर बाँसको कप्टेरा र खरले छाएका छानाहरु पाँच वर्ष टिक्दैनन्। दुई वर्ष जसोतसो काम चले पनि तेस्रो वर्षदेखि चुहिन थाल्ने शरणार्थीहरु बताउँछन्।
२०४८ सालमा नेपाल सरकारले भूटानी शरणार्थीहरुलाई आश्रयको घोषणा गरेपछि ओइरिएका लाख बढी शरणार्थीहरु झापा र मोरङका सात वटा शिविरमा बस्दै आएका छन्। तर सुरुमा बनाएका शरणार्थीका छाप्रा मर्मत गरिए पनि स्थायी प्रकृतिको आवास गृह बनाउनेतर्फ कसैको सोच गएन। ‘हामी अस्थायी बासमा पानीले रुझ्दै समय कटाउनुपर्ने बाध्यतामा छौं’- खनालले भने।
‘जति टाल्दा पनि थामिएनु खुदुनाबारी शिविरका शरणार्थी देवबहादुर तिवारी भन्छन्- ‘घरभित्रका लत्ताकपडा खानेकुरा भिजेर बर्बाद भएका छन्।’ लगातारको रुझाईका कारण शरणार्थी बालबालिकामा रुघाखोकी र ज्वरोको समस्या थपिएको छ।
सबै शिविरको दुरावस्था उस्तै रहेको बेलडाँगी शिविरका रत्नकाजी विक बताउँछन्। बर्खामा मात्र होइन चैत-वैशाखमा हावाहुरीले थोत्रिएको छानो उडाउँदा धेरैजसो शरणार्थी बिचल्लीमा पर्छन्।
शिविरको आवास हेर्ने कामको जिम्मा अन्र्त्ाष्ट्रिय गैर सरकारी संस्था लुथरन वल्र्ड फेडेरेशनले लिएको छ । फेडेरेशनले शरणार्थीका अधिकांश छाप्रा मक्काए पनि पुनः निर्माणमा चासो नदेखाएको शरणार्थीहरुको गुनासो छ।
छाप्राहरु चुहिने समस्या समाधानका लागि आवश्यक पहल भइरहेको दाबी गर्छन् लुथरनका खुदुनाबारी शिविर प्रमुख श्याम काँजु। कस्तो र कहिलेसम्म समाधान खोजिने भन्ने विषयमा कोंजुले केही खुलाएनन्। तर खुदुनाबारी शिविरका शरणार्थी सचिव भानु ढुंगाना लुथरनले शरणार्थीको पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै आएको दाबी गर्छन्।
सात वटा शिविरमा अधिकतम १८ हजार आठ सय २६ वटा छाप्रा बनाइएका थिए। तेस्रो मुलुक पुनःर्वास तीव्र भएपछि हाल १६ हजारभन्दा कम मात्र छाप्रामा शरणार्थी बस्छन्।
लुथरनले पाँच वर्षमा समेत घर छाउने सामान नदिएपछि शरणार्थीहरु दुःख गरेर आफैँ छाना छाउन जुटेका छन्। ‘बाहिर गएर कमाउनेले छाना फेरे’- शरणार्थी मामिलालाई नजिकबाट नियालिइरहेका पत्रकार गोपाल गड्तौला भन्छन्- ‘नहुने र नसक्नेको छानोबाट आकाशका तारा गन्न सकिन्छ।’
लुथरनले पाँच वर्षमा समेत घर छाउने सामान नदिएपछि शरणार्थीहरु दुःख गरेर आफैँ छाना छाउन जुटेका छन्। ‘बाहिर गएर कमाउनेले छाना फेरे’- शरणार्थी मामिलालाई नजिकबाट नियालिइरहेका पत्रकार गोपाल गड्तौला भन्छन्- ‘नहुने र नसक्नेको छानोबाट आकाशका तारा गन्न सकिन्छ।’
त्यस्तै भूटानी शरणार्थीहरुलाई खाद्यान्न र आवासको व्यवस्था दाताले गरे पनि आङ ढाक्ने लुगाको बन्दोबस्त गरिएको छैन। शुरुमा तीन वर्ष कपडा दिएको बताउँदै करिब १६ वर्षदेखि शरणार्थीलाई लत्ताकपडा उपलब्ध नगराइएको पथरीस्थित शिविरका भोलानाथ शिवाकोटीले बताए।
गाँस र बासजत्तिकै अपरिहार्य भएर पनि कपासको व्यवस्था गरिदिनेतर्फ दातृ संस्था र नेपाल सरकार कसैको ध्यान गएको छैन। शरणार्थीहरुले खाद्यान्न बिक्री गरेर र बाहिर रोजगारी गरेर लत्ताकपडाको जोहो गर्दै आएका छन्। उनीहरुलाई दाताले मृत्युपछि कात्रोचाहिँ किनिदिने गरेको छ ।
No comments:
Post a Comment