http://nepalihimal.com/article/1396
भूटानको चुनावमा सत्तारुढ दल पराजित भएपछि दुई दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका भूटानीको अनुहार उज्यालो बनेको छ।
तस्वीरः गोपाल गड्तौला
क्षेत्री विजय भएको खबरले सिब्सुको बाँडा गाउँबाट करीब तीन सय किलोमिटर पश्चिम नेपालको दमकमा रहेका डा. राईको अनुहार निकै उज्यालो बनाएको प्रष्टै देखिन्थ्यो। क्लिनिकमा बिरामी जाँचिरहेका डाक्टर राईले उत्साहित हुँदै भने, “लामो समय लागे पनि चुनावको यो परिणामले भूटानको तानाशाहीको उल्टो दिनगन्ती शुरू गरेको निधोमा पुगेको छु।”
दक्षिण एशियाको अन्तिम राजतन्त्रात्मक मुलुक भूटानमा गए साता ४७ सीटको संसद्का लागि भएको दोस्रो चुनावमा सत्तारुढ ड्रूक फिन्सोङ्ग छोक्पा (डीपीटी) १५ सीटमा सीमित बन्यो। पाँच वर्षअघिको चुनावमा दुई सीट मात्र जितेको पिपुल डेमोक्रेटिक पार्टी (पीडीपी) ले ३२ सीट जित्दै सत्तारुढ हुने पक्का गर्यो। भूटानका राजा जिग्मेले पाँच वर्षअघि आवधिक संसदीय चुनाव शुरू गराउँदै सीमित बहुदलीय व्यवस्था दिएका थिए।
शरणार्थीमा उत्साह
चुनावमा विपक्षी पीडीपी ले अत्यधिक बहुमत ल्याएको खबरले नेपालमा शरणार्थी जीवन बिताइरहेका भूटानी समुदायलाई उत्साहित बनाएको छ। अहिले झापाका विभिन्न शरणार्थी क्याम्पमा ३६ हजार ५०० भूटानी छन् भने ८० हजारभन्दा बढी पुनर्वास कार्यक्रमबाट अमेरिका, क्यानाडा लगायतका आठ मुलुक पुगेका छन्।
दक्षिण भूटानको चिराङ जिल्लाको बुढिछु ब्लकमा रहेको पुर्ख्यौली जमीन छाडेर नेपाल आएका हरिप्रसाद ओलीको भनाइमा धेरै आशा गर्ने ठाउँ नभए पनि निर्वाचनको यो परिणामले दिल्लीसँग भूटानको पुरानो सम्बन्ध कायम नरहने र दिल्लीको दबाबले त्यहाँको तानाशाहीलाई अरू कमजोर पार्ने सम्भावना बढाएको छ। ओलीले भने, “हामीलाई खेद्न साथ दिएको भारतले भूटानमा वैकल्पिक शक्ति उभ्याउँदै आफ्नो भूमिका अरू बढाउन चाहेको देखिन्छ।”
१२ वर्षको उमेरमा भूटानबाट खेदिएर शनिश्चरे शरणार्थी क्याम्प आइपुगेका नरबहादुर सुवेदी (३५) प्रजातन्त्र दिएको भ्रम विश्वलाई पार्न राजाले शुरू गराएको प्रजातान्त्रिक अभ्यासले त्यहाँको राजनीतिक मैदान केही फराकिलो बनाएको र साँच्चैको प्रजातन्त्र आउने सम्भावना बढाएको बताउँछन्।
भूटान चीनसँग लहसिएको निष्कर्षमा पुगेको भारतले पहिले दिंदै आएको केही सहयोग चुनावको मुखमा रोकेपछि भूटानी राजनीतिको दिशा बदलिएको थियो। भूटानमा सत्ता विरोधी माहोल तयार भएर चुनावमा सत्तारुढ दलले पराजय बेहोर्नु र विपक्षीले विजय हासिल गर्नुको कारण त्यही हो।
विगतमा भूटान
ब्रिटिश इण्डियाको समन्वयमा सर उगेन वाङ्चुकलाई भूटानको राजगद्दीमा राखिएको आउँदो पुसमा १०७ वर्ष पुग्दैछ। जिग्मे उनै वाङ्चुकका पाँचौं पुस्ता हुन्। बेलायतले भारत छाडेपछि पनि भारतकै सत्ताको आडमा शासन चलाएको राजतन्त्रले सन् १९९० पछि पुस्तौंदेखि बसोबास गर्दै आएका एक लाख नेपालीभाषीलाई निर्दयतापूर्वक देशनिकाला गर्यो। नेपालमा संगठित भएर स्वदेश फर्कन खोजेका उनीहरूलाई सीमाको पानीट्याङ्कीबाट भारतले छिर्न समेत दिएन। त्यो घटनाबाट उत्साहित भएको भूटानी सत्ता दिल्लीबाट सधैं साथसहयोग पाउने विश्वासमा अरू उद्दण्ड बन्दै गयो। तर, २००७ को निर्वाचनबाट बनेको सरकारले चीनसँग सम्बन्ध बढाउने प्रयास थालेपछि भने पहिले सहयोगी रहेको भारत नै भूटानी सत्ताको विरोधी बन्यो।
चुनावको यो परिणामले भूटान अझै केही समय भारतको घेरा र स्वार्थ बाहिर जान नसक्ने स्पष्ट पारेको छ। भारतको चाहनामा आएको निर्वाचनको यो परिणामपछि थिम्पूबाट दिल्ली धाउने राजनीतिज्ञहरूको संख्या अरू बढ्नेछ। तर, अर्को के पनि निश्चित छ भने, अबको भूटानमा दिल्ली मात्र एक्लो खेलाडी हुने छैन। भूटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष समेत रहेका डाक्टर राई भन्छन्, “अब थिम्पूका लागि बेइजिङ र अरूतिर पनि राजनीतिक खिचडी पाक्न शुरू हुनेछ।”
आफूलाई हराउन भारतको प्रमुख भूमिका रहेको महसूस गरेको भूटानको पूर्व सत्तारुढ दल नै भारत विरोधी शक्तिमा रूपान्तरण हुने सम्भावना देख्ने शरणार्थी प्रकाश अधिकारी (३०) भन्छन्, “अब भारतलाई पहिले जस्तो सजिलो छैन।”
गोपाल गड्तौला, झापा
No comments:
Post a Comment