The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

यमी

http://www.mysansar.com/archives/?p=4559
March 1st, 2009

-कञ्चन लिम्बु-
“त्यसो भए तिमी जाने नै भयौ..”
मैले अघिजस्तै आफ्नो कुरालाइ दोहोर्‍याएँ । मलाई ज्यादै नरमाइलो लागिरहेको थियो। पहिलेको कुराहरु सम्झिँदै गएँ । मन अमिलो भयो।
“तिमी अबुझ जस्तो नबन न प्लिज । तिमीसँग छुट्न मलाई कति गाह्रो भएको छ । ममा के बितिरहेको होला महशुस गर न…मेरो यो बाध्यता हो । प्रेममा सँधै प्राप्तिमात्र हुँदैन त्यसमा समर्पण पनि हुन्छ । त्याग पनि हुन्छ । प्लिज मेरो कुरा बुझ्ने कोशिश गर । म तिमी खुसी भएको हेर्न चाहन्छु। म तिमीबाट यसरी दुःखी भएर विदा हुन सक्दिनँ।”
उनी कम्पित स्वरमा बोलिन् ।
“त्यसो नभन .. म तिम्रो हर क्षण हर समय साथ रहन चाहन्छु । टाढा नजाऊ.. म तिम्रो हरेक चाहना पूरा गर्नेछु । मलाई एक्लै नबनाउ..म शायद तिमी बिना…”
मेरो बोली बीचैमा रोकियो । उनी पनि केही बोलिन शायद अवाक भइहोलिन्। एक मिनेट जतिको मौनता पछि फोन काटियो । शायद मोवाइलको यस्तै समस्या हुन्छ । यसले समय, प्रेम केही भन्दैन ।

म एकक्षण शून्य भएँ। सोचेँ आखिर प्रेम केही रहेनछ। समयकै त खेल रहेछ। समय आफ्नो बसमा भयो त प्रेम पनि गीतजस्तै गाइरहने चीज हुँदो रहेछ। समय आफ्नो वशबाट टाढिदै जाँदा पुरानो भाकाको गीत मात्रै हुँदो रहेछ। समयले जस्तो गीत दियो त्यस्तै गाउनुपर्ने। मैले जति आफूलाई बिर्सेर उसलाई माया गरेको थिएँ त्यसको प्रतिफल भोग्दैछु जस्तो लाग्यो। आफूलाई बिर्सिएर अरुमाथि आफ्नो माया थोपर्नु पनि मर्नुजस्तै नै हुँदोरहेछ। आज यमीको कुरा सुनेर म आफूमाथि नै टिठ लाग्यो। फेरि एकपटक मोबाइलमा सम्पर्क गर्ने प्रयास गरेँ तर भनेकै बेला के नै हुन्छ र ? तैपनि फेरि एकपटक प्रयास गरेँ..अरु दुईतीन चोटी प्रयास गरें तर पनि भएन।
“आखिर मेरो के नै दोष थियो र ?”
मैले आफैलाई प्रश्न गरें। अघिल्लो वर्षको भ्यालेन्टाइन डेको क्षण सम्झिएँ। एकप्रकारले रमाइलो महसुस भयो। फेरि अघिसम्मको यमीले फोनमा गरेको कुरा सम्झिएँ एक्कासी मन अमिलो भएर आयो।
अचानक मोवाइलमा कल आयो। हेरेँ यमीकै रहेछ।
“के भएर डिस्कनेक्ट भयो ?”
“यमी म तिमीसँग भेट्न चाहन्छु। तिमी अहिले नै आउ। चिया बगानमा म आधाघण्टा पछि त्यहाँ पुग्छु ..।”
मैले सरासर आफ्नो कुरा भनिदिएँ। म उसलाई सम्झाउने कोशिशमा लागें।
“तर..”
“तर सर म जान्दिन यमी म तिम्रो कुराले पागल हुन लागिसकें। प्लिज तिमी जसरी भएपनि आउ..”
मैले आफ्नो जिद्दीपन शुरु गरें। यमीलाई थाहा थियो मैले जिद्दी गर्न थालें भने उसको केही लाग्दैन। शायद यही मेरो कमजोरी पनि थियो होला। तर मैले आफ्नो अगाडि केही पनि देखिन। उनले एक घण्टा पछि हिमालय गुडरिकको चियाबगानमा आइपुग्ने बताएर फोन काटिन्। म छटपटिएँ यमीले छाडेर जाँदा मेरो हाल के होला। मैले त्यो विरक्तिलो दिनहरु कल्पना पनि गर्न सकिन। त्यसैले सरासर कलेजबाट निस्किएर चियावगान तिर लागें। शायद अफिस समय पनि भएको थियो। स्कुलको पनि समय भएकोले स्कुले केटाकेटीहरु, प्लसटुका केटाकेटीहरु आफ्नै पारामा हल्लिदै हिडिरहेका थिए। मैले अगाडिको रिक्सा, साइकल, बस केही पनि परवाह नगरी सडकमा हिडिरहें। लगभग पच्चीस मिनेटको लाग्दो हो कलेजदेखि चियाबगान सम्म पुग्न। एकोहोरो हिंडेकोले होला त्यो भन्दा कम समयमै पुगेर गेटछेउको टुलमा चूपचाप बसिरहें। को आए को गए मलाई केही याद भएन।
***********
अघिल्लो वर्षमात्र हो यमीसँग चिनजान भएको। उसँग पहिलोपटक भेट्दा मलाई अनौठो लागेको थियो। हुन त मेरो त्यति धेरै केटी साथीहरु छैनन् र मलाई उनीहरुको स्वाभाव पनि त्यति धेरै थाहा छैन त्यस्तै थाहा नभएको मध्येमा यमी पनि एउटी थिइन। पहिलो पटक उनलाई क्यान्टिनमा भेटेको थिएँ। मेरो साथीहरुले भन्थे उसलाई हेर्दाहेर्दा मैले चिया पिउन नै बिर्सिएको थिएँ। म बीए दोस्रो वर्षमा पढ्दा यमी पहिलो वर्षको कक्षामा भर्खरै आएकी रहिछिन्। पछाडि स्ववियूले गरेको स्वागत कार्यक्रममा मात्र राम्रोसँग थाहा भयो उनको बारेमा। त्यही मौकामा उनीसँग कुनै बहानामा चिनजान भयो। विशेष गरी उनको लाम्चो मुहार, लामो कपाल र ठूलाठूला आँखाहरुले मेरो मनलाई आकषिर्त गर्थ्यो। नारीसुलभ चाल भएपनि ठूलो स्वरले नधकाइकन बोल्ने उनको बानीले मलाई हुरुक्कै बनाएको थियो।
केही दिनभित्रै मैले उनको बारेमा चासो गर्दा उनी बेलडाँगीस्थित भूटानी शरणार्थी क्याम्पबाट आएकी रहिछिन्। शरणार्थी युवतीहरुमा मैले उनीजस्तो आत्मविश्वासी भेटेको थिइनँ।
विस्तारै उनीसँगको संगत बढ्दै गयो। क्यान्टिनमा भेट्ने, चियागफ गर्नेदेखि उनी मेरो कोठामा आउने, गफ गर्ने क्रम बढ्दै गयो। हामीबीच धेरै कुराहरु सेयर हुन्थे। उनी आफू शरणार्थी हुनुपरेकोमा गुनासो गर्थिन्। आफू नेपालमै आएर जन्मिए पनि आफ्नो बाबुबाजे जन्मेको, उनीहरुले दशनंग्रा खियाएर, हातपाउ बजारेर बनाएको जग्गाजमीन घर बिर्ता सबैको ज्यादै माया लाग्नेकुरा सुनाउँथिन। त्यतिबेला म हामी सार्वभौमिकताको नारा दिने आफूहरुलाई सम्झिन्छु। राष्ट्रियता र मातृभूमिप्रतिको प्रेम भनेको त आफू त्यहाँबाट टाढिँदाखेरी पो अनुभूति गरिँदो रहेछ। यमीले आफूलाई भूटान गएर फेरि नयाँ जिन्दगी शुरु गर्न पाए हुन्थ्यो भन्दा मलाई पनि कस्तो नरमाइलो लाग्थ्यो। यहाँ भूटानी शरणार्थी घर फिर्ती आन्दोलनमा धेरै मान्छेहरुले दुःख पाएको कुरा मैले सम्झें। केही वर्षअघिको पछिल्लो आन्दोलनमा बेलडाँगी क्याम्पमा हरि बगाले काण्डमा दुई तीनदिनसम्म कर्फ्यु पनि लागेको थियो। क्याम्पभित्रका शरणार्थी र बाहिरका आसपासका नेपालीहरुले पनि खूव सास्ती पाएका थिए।
उनी शरणार्थी नेताहरुको आलोचना गर्थिन्। प्रेस विज्ञप्ति निकालेर विरोध गरेको भरमा कोही नेता हुँदैन। भूटानी शरणार्थीहरुको समस्या भनेको नेपाल, भारत र भूटान मिलेर समाधान गर्नुपर्छ। नेपाल सरकार र स्वयं भूटानी शरणार्थी नेताहरुले नै यसको पहल गर्नुपर्छ .. उनी बेलाबेलामा राजनीतिक कुराहरु पनि गर्थिन्। तर यसो भन्दैमा सबै नेता खराब छैनन्। केही चैँ राम्रा पनि छन्। उनको नेताहरुप्रतिको यो सकारात्मक दृष्टिकोण थियो।
********************
यमी अर्थात् यमुनादेवी उनको परिचयपत्रको नाम। त्यो मैले कुनैदिन उनको परिचयपत्रमा हेरेर थाहा पाएको थिएँ। उनले आफूलाई चिनाउँदा यमुना भनेपनि मैले पछि उनको नाम यमी राखिदिएको थिएँ। उमेरमा शायद त्यस्तै बीस वर्ष होला। मैले त्यस्तै अनुमान गरेको थिएँ।
उनीसँग बस्दा मलाई रमाइलो लाग्थ्यो। हाम्रो भेट औपचारिक भेटबाट दुईतीन महिनाको अन्तरालमै घनिष्ट भएको थियो। उनलाई कलेजमा एकदिन नदेख्दा मलाई दिनभरीजसो नै छटपटी हुन्थ्यो। उनको बेलडाँगीतिरबाट आउने साथीहरुलाई गेटैमा पर्खेर उनको बारेमा सोधीखोजी गर्थे। केहीसमयपछि उनी आउँदै गरेको देखेर मात्र मन शान्त हुन्थ्यो। यमी र मेरो भेट भएको तीन महिना पछि मैले आफ्नो मनको कुरा सुनाउने निर्णय गरें।
हुन त उनी मेरो कोठामा प्रायः आउँथिन्। म कलेज नियमितजसो जाँदिन थिएँ। प्राय आफ्नै अफिसमा नत्र कोठामा ल्यापटपमै व्यस्त हुन्थें। कलेज जानु भनेको मेरो लागि फुर्सदको काम थियो। भनौं म आफ्नो काममै व्यस्त हुन्थें। वेबसाइट डिजाइन गर्नु, ब्लग लेख्‍नु र बाँकी समय अनलाइनमा बिताउनु मेरो दिनचर्या जस्तै थियो तर यमीसँग भेट भएपछि यी कार्यहरुका लागि समय कटौती भएको थियो। म धेरैजसो समय कलेजमा हुन्थेँ। हुन पनि बिहानको सिफ्टमा थियो। बिहानसम्म धेरै सुत्‍ने बानी भएकोले पनि कलेज जानमा समस्या हुन्थ्यो तर आजकाल छिट्टै उठ्ने बानी गरेर म कलेजको लागि समय निकाल्ने गर्दथें।
एकदिन कोठामा म अनलाइन जबसम्बन्धी केही जानकारीहरु गुगलमा खोज्दै थिएँ। केही पेजहरु हेर्दै सेभ गर्दैमा व्यस्त थिएँ। पछाडिबाट आवाज आयो
“के हो गुगल सर ?”
आवाज यमीको थियो। उनले कलेज नआएको कारण सोधिन्। मैले राति अबेरसम्म इन्टरनेटमा काम गरेको कारण बिहान उठ्न नसकेको बताएँ। उनले सँधैजस्तै चिया खाने प्रस्ताव गरिन्। म उनी आएको समयमा प्रायः चिया बनाउँथे र हामी चिया पिउँदै गफ गर्थ्यौँ। उनी आएपछि मेरो ल्यापटप पर सार्नुपथ्र्यो नत्र उनी आफैले बन्द गरिदिन्थिन्।
“हामी दुईजनाको गफमा यो ल्यापटप कवाबमा हड्डी”
उनको यो रेगुलर डाइलग शुरु भइहाल्थ्यो।
आज यमी अलि अर्कै मुडमा थिइन्। उनी आफैले चिया बनाइन र पिउन लाग्दा मधुरो स्वरमा भनिन्
“तिमी आज कलेज आएनौ। मलाई तिमीसँग केही गम्भीर कुरा गर्नुछ।”
“के छ त्यस्तो ?”
“हैन त्यस्तो त केही। तिमी अहिले व्यस्त छौ। भोलिपर्सितिर समय निकालेर गफ गरौँला नि। म त तिमी किन आएनौ भनेर मात्र बुझ्न आएको।”
उनले मेरो व्यस्तताको ख्याल गरेर कुरा अर्कैतिर मोड्न चाहिन्।
“हैन भन न त्यस्तो केही छ भने।”
“ठीकै छ कलेजमा नै भेटुँला न। त्यहीँ कुरा गरौं अहिले तिमी व्यस्त छौ।”
यति भनेर यमी कोठाबाट बाहिरिन्।
मलाई त्यस दिनभर रातभर छटपट भइरह्यो। त्यस्तो के होला भनेर खुल्दुली भइरह्यो।
*****************
तीन दिनपछि १४ फेव्रुवरी। मैले उनलाई आफ्नो मनको कुरा बताएँ। मेरो प्रेमप्रस्ताव पछि उनी एकछिन त मौन भइन्। मैले उनलाई सोचेर जवाफ दिन आग्रह गरें।
*********
भोलिपल्ट यमीले कलेजको क्यान्टिनमा बोलाइन्। पहिले त आफूले त्यस्तो सोच्दै नसोचेको कुरा मैले भन्दा के गरौँ के गरौँ लाग्यो रे। फेरि रातभर बिहान उज्यालो हुँदासम्म नै मेरो बारेमा सोचिन् रे। त्यसपछि आफू शरणार्थी केटी भएर यतैकोसँग बिहे गर्दा हेप्छन् भन्ने उनले सुनेको हुनाले डर पनि लाग्यो रे। तर पनि आफूलाई त्यतिविधि माया गर्ने मान्छेलाई निराश बनाउन नचाहेकोले उज्यालो हुने बित्तिकै कलेज आएको बताइन्। उनले पनि मलाई मन पराउने तर आफू शरणार्थी भएकोले मेरो बारेमा त्यस्तो धारणा बनाउन नसकेको पनि उनले बताइन्। तर जे भए पनि अब यस्तो कुराहरुलाई बिर्सिएर नयाँ जीवन शुरु गर्नुपर्छ भन्ने हामी दुवैको कुरा मिल्यो। आउने दिनहरुमा त्यस्तो हीन भावना त्याग्न मैले सुझाव दिएँ उनलाई। यसरी हाम्रो सम्बन्ध साथीबाट प्रेमीमा परिणत भयो।
*************
समय चल्दै गयो।
केही हप्तामा स्थानीय तथा राष्ट्रिय मिडियामा नयाँ कुरा सुनियो। भूटानी शरणार्थीहरुको अमेरिकालगायतका देशहरुमा पुनर्वास शुरु हुने रे। दमक क्षेत्रमा भूटानी शरणार्थीसम्बन्धी अर्न्तराष्ट्रिय नियोगहरुको कार्यालयहरु युएनएचसीआर, लुथरन, क्यारितासलगायतका संस्थाहरुमा सेतो गाडीहरुको ताँती लाग्न थाल्यो। केही दिनपछि हल्ला सुनियो अमेरिकी राजदूत पनि आउँदैछन् रे। आइओएम नामको पुनर्वाससम्बन्धी अमेरिकी संस्थाले उनीहरुलाई तेश्रो मुलुक पुनर्वास गराउने भन्ने हल्ला चल्यो। नभन्दै आईओएमको काठमाडौँस्थित कार्यालयबाट भटाभटी भ्याकेन्सी खुल्न थाल्यो। दमकमा त एकप्रकारको व्हीम नै फैलियो। जसले पनि सोध्थे
तिमीले आइओएममा एप्लिकेसन लेख्यौ ?
कुन पोष्टको लागि खुलेको रहेछ…
अझै पनि एप्लिकेसन दिएका छैनौ…
कहिलेसम्म रैछ लास्ट डेट..
सबैको मुखमा आईओएम झुण्डिएको थियो। मानौँ कि त्यसमा आवेदन नभर्ने युवाहरु अभागी नै हुन्।
एकदिन यस्तैमा अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी चढेको गाडीमा वाईसीएलका कार्यकर्ताले ढुंगा प्रहार गरे। उनीहरुले साम्राज्यवादीहरुको नाइकेको राजदूत भन्दै कालोझण्डा देखाएका थिए। दमकमा खैलावैला मच्चियो। एकैछिनमा सशस्त्र प्रहरीहरुले चोकलाई घेरा हालेर नियन्त्रणमा लिए।
उता भूटान कम्युनिष्ट पार्टी लगायतका केही संगठनहरुले पुनर्वासको कार्यक्रम तत्काल रोक्न विज्ञप्ति जारी गर्दै थिए। कतिपय भूमिगत तथा अर्धभूमिगत संगठनहरुले त विद्रोहको घोषणा गरेर बमसमेत विस्फोट गराएका थिए।
*****************
तेस्रो मुलुक पुनर्वाससँगै दमकमा धेरै मानिसहरुको मानसिकतामा पनि परिवर्तन आयो। कसैले शरणार्थीहरु सबै अमेरिका गए भने दमक बजार शून्य हुन्छ भने। कसैले व्यवसायमा नै असर पर्छ भने कसैले यो हुनै सक्दैन भने। कसैले यस्तो क्याम्पमा बिजोग जीवन बिताउनुभन्दा त बरु अमेरिकामा स्वर्ग हुन्छ भने। कसैको तर्क थियो उता गएपछि त फेरि कहिल्यै फर्किन पाउँदैन। कसैले के भने.. सबै आआफ्नो तर्क दिन व्यस्त थिए। पुनर्वास पक्षका नेताहरु स्वदेश फिर्तीको लागि विश्वभरी जतै गए पनि आन्दोलन गर्न सकिने तर्क दिंदै थिए भने उता स्वदेश फिर्ती पक्षधरका नेताहरु अमेरिकाले भूटानी शरणार्थीलाई धोका दिइरहेको बताउँदै थिए। भनौ तेस्रो मुलुक पुनर्वासको कार्यक्रमले धेरैलाई धेरै कुरा गर्न बाध्य बनाइरहेको थियो।
*************
एकदिन मैले यमीलाई सोधें
“तिमी पनि अमेरिका जाने हो ?”
“तिमी मलाई नजिस्काऊ है। मलाई अमेरिका समेरिका जानु छैन।”
उ ठुस्कीइ। मलाई उनको ठुस्काई मज्जा लाग्थ्यो। जति रिसाउँदै गयो उनको आँखी भौं ठूलो ठूलो पार्दै आँखा तर्दा हिस्सी परेको देखिन्थ्यो।
“हैन, हामी अमेरिका जान भनेर दसौँ लाख खर्च गर्छौँ। तिमी भने..”
मेरो वाक्य पूरा नहुँदै उनले मेरो ओठ बन्द गरिदिई।
“म तिमीलाई छाडेर कही जान सक्दिनँ। तिम्रो साथ तिम्रो घर नै मेरो जिन्दगी हो। अमेरिका त के तिमी नै मेरो स्वर्ग हो। मसँग यस्तो ठट्टा आइन्दा नगर प्लिज…”
साँच्चै नै मैले अलि बढी नै उनको स्वाभिमानमा ठेस पुर्‍याएँ कि जस्तो लाग्यो।
यमी अमेरिका त के पुनर्वासको कुरै सुन्न चाहन्न थिई। उनको अगाडि यस्तो एउटा अवसर थियो जो हरेक साधारण मानिस सपना देख्ने गर्छ। तर उनलाई न त अमेरिकाको वास्ता थियो न त उनलाई पुनर्वासको। बरु प्रायः उनी भूटानकै कुरा गर्थिन। उनले आफूले नदेखे पनि आमावुवाको मुखबाट सुनेको कुराहरु कै अनुसार त्यहाँको ठाउँको कल्पना गर्थिन् रे। आफ्ना बाबुआमाहरुले भूटानी शासकबाट पाएको दुख र त्यहाँबाट खेदिंदाखेरिको विजोगको कुरा सुनाउँदा उनका आँखा रसाउँथे।
“यस्तो गरेर हामीलाई बिजोग बनाउने भूटानी राजाको अन्यायको विरुद्ध बोल्ने बेलामा हाम्रा दाजुभाइलाई के भएको होला।”
उनी गुनासो पोख्थिन्।
**********
म आफ्नो प्रेम सफल बनाउन हरतरहले लागिरहेँ। तेस्रो वर्षको पढाइ सकिएपछि उनलाई घरमा भित्र्याउने मेरो कल्पनाले योजनाको रुप लियो। मैले घरमा बुबाआमासँग यसको बारेमा सल्लाह पनि गरेको थिएँ। शुरुमा त यस्तो हुनै सक्दैन भनेर बुबाले मान्नुभएन। तर पछि मैले माया प्रेमको अगाडि सीमा, वर्ग लिंग यस्तो केहीको पर्वाह हुँदैन भनेर धेरैपटक भनेपछि उहाँहरु राजी हुनुभयो। शायद अब यसलाई भनेर पनि केही लाग्दैन भनेर होला।
***********
अमेरिका पुनर्वासको तयारी क्याम्पक्याम्पमा भव्य भइरहेको थियो। यमी आफ्नो विचारमा दृढ थिइन्। आज्ञओएमले बेलडाँगी, शनिश्चरे, गोलधाप तथा टिमाई शिविरका भूटानी शरणार्थीहरुलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका विभिन्न मुलुकहरुमा जान इच्छाजाहेरी गरी फारम भर्न पहिलोपटक आह्वान गर्‍यो। कम्युनिकेसन कर्नरको दमकस्थित कार्यालयमा रहेका गोपाल दाइ (गोपाल गड्तौला)सँग विस्तृत रुपमै मैले यसको बारेमा बुझेँ। पछि यमीले पनि कुरा गरिन्। उनको धेरै कलेज पढ्ने साथीहरुले आईओएमको फर्म भर्न थालेका छन् रे। मैले उनले फर्म भरे नभरेको कुरा गर्न जरुरी ठानिनँ। मात्र उनको कुरा सुनिरहें।
************
दिनहरु बित्दै गए। भुटानी शरणार्थीहरुको पुनर्वासको कार्यक्रम अगाडि बढिरहेको थियो। आईओएमले पहिलो चरणमा केही शरणार्थीहरुलाई अमेरिका उडाउने हल्ला चल्यो। यमीले कलेजमा एकदिन मलाई उनकी एकजना मिल्ने साथी पनि पहिलो चरणमै उड्ने कुरा गरेकी थिइन्। त्यसपछि फेरि एकपछि अर्को गर्दै विभिन्न चरणहरुमा १५ सय भन्दा बढी शरणार्थीहरु अमेरिका पुनर्वास भइरहेका थिए।
**********
परीक्षाको तयारीले गर्दा यमी र म दुवै एकअर्कामा कम भेटघाट गर्ने सल्लाह गर्‍यौँ। त्यही अनुसार म आफ्नो कामको केही समय घटाएर परीक्षाको तयारीमा लागें। यमीसँग हप्तादिन जतिमा मात्र भेट हुन्थ्यो। उनीसँग मोबाइल थिएन। अर्काको फोनमा कुरा गर्न पनि अप्ठेरो मैले मन मारेर आफूलाई पढाइको तयारीमा लगाएँ।
*******
एकदिन अचानक फोन आयो। ‘मेरो मोबाइल’को नम्वर थियो। एकैपटकमा चिनिहालें। आवाज यमीको थियो। उनले आफूले नयाँ नम्बर लिएको बताइन्। त्यसपछि प्राय फोनमा कुरा भइरहन्थ्यो। उनी आफ्ना साथीहरु प्राय सबै अमेरिका र क्यानडा जाने तयारीमा रहेको बताउँथिन्। उनका परिवारका अन्य सदस्यहरु पनि पुनर्वासको लागि अन्तर्वार्ता दिएको कुरा पनि उनैले बताएकी थिइन्। तर आफू भने नजाने र अर्न्तवार्ता पनि नदिने निर्णयले उनको परिवारमा झगडा भएको कुरा पनि बताएकी थिइन्।
**************
एकदिन उनले रुँदै फोन गरिन्। मलाई अचम्म लाग्यो। परीक्षाको तयारी गर्नुपर्ने बेलामा के भयो ?
“म शायद अब परीक्षा दिन्न होला।”
उनको यस्तो कुराले मलाई गम्भीर बनायो।
“किन र अव केही हप्ता मात्र बाँकी छ परीक्षा आउन। फेरि पहिलो वर्षको परीक्षा हो मेहनत गर्नुपर्छ। यस्तो कुरा नगर”
यमीले मेरो कुरा सुनिरही..सुँक्कसुँक्क गर्दै। मलाई नरमाइलो लाग्यो। तर पनि उनलाई ढाडस दिंदै रहें।
“मेरो बुबाले आफ्नो निर्णय नबदलिने बताउनुभएको छ। शायद मेरो..”
मलाई यो भन्दा बढी सुन्न सक्ने क्षमता भएन।
“यमी। तिमीले त मलाई वाचा गरेकी थियौ ..। तिमीले यस्तो गर्न सक्दैनौ..। तिमी मलाई छाडेर जान सक्दैनौ..हाम्रो मिलन हुन एक वर्ष त बाँकी छ। त्यतिन्जेलसम्म तिमी पर्ख ..”
उनले मेरो कुरा सुनेर पछि फोन गर्छु भन्दै फोन काटिन्।
*********
बीचमा फेरि उनले आफ्नो कुरा परिवारमा पनि राखेको बताइन्। तर बुबाले अझै पनि निर्णय गर्न समय रहेकोले आफ्नो लागि समय दिएको बताइन्। मैले उनलाई यस्तो कुरामा ध्यान नदिई परीक्षाको तयारीमा लाग्न सल्लाह दिएँ।
*******
उनको पहिलो वर्ष र मेरो दोस्रो वर्षको परीक्षा सकियो। मनमा बेग्लै उमंग थियो। छुट्टीका केही दिनहरु हामी दोमुखा, कन्याम डुल्यौँ। अर्को वर्ष दुवैजना प्रेमको प्राप्ति हुने कुरामा ढुक्क थियौं।
********
शुक्रबार दमक बजार बन्द। यमी र म कोठामा थियौं। उनले फेरि आफ्नो पुनर्वासको अन्तर्वार्ताको कुरा सुनाइन्। मलाई लाग्यो उनको बुबाले फेरि उनलाई दबाब दिन शुरु गरेछन्। तर यमी आफैले यो कुरामा निर्णय गरेको कुरा सुनाइन्। म उनको मुखबाट जुन कुरा सुन्न चाहन्न थिएँ, त्यही कुरा सुन्दै थिएँ। मैले उनलाई रोक्न चाहें। हिजोसम्म त्यस्तो कुरा नगर्ने यमी आज एकाएक परिवर्तन भएको देखेर मलाई अचम्म पनि लागिरहेको थियो।
उनी गम्भीर भएर बोल्न थालिन्
“म अमेरिका जानु भनेको हाम्रै भविष्यको निम्ति हो। त्यहाँ भए पनि मेरो मन तिमीसँगै हुन्छ। तिमी सँधै सपना भन्थ्यौ। हामी शरणार्थीहरुको लागि त त्यो सपना मात्र होइन अवसर पनि भएको छ। जुन कुरा तिमी कल्पना गर्थ्यौ, आज त्यही कुरा मेरो अगाडि अवसर भएर आएको छ। भन न म के गरुँ।”
म केही बोलिनँ।
“हामी शरणार्थीहरु त जहीँ पनि शरणार्थी। उता जाँदा कमसेकम आफ्नो योग्यता अनुसारको काम त पाइन्छ। कमसेकम श्रमको कदर हुन्छ। आफ्नो श्रम गरेर खान पाइन्छ। हामीलाई यहाँ बसेर धेरै गाह्रो हुन्छ। मैले धेरै सोचेर नै यो निर्णय गरेको हुँ। तिमी त यहीँको हो। तिमीसँग नागरिकता छ। परिचय छ। आफ्नो भन्ने छ। म र मजस्ता लाखौं शरणार्थीको के छ र यहाँ ? खाली झुप्रो घर, अव्यवस्थित बसाई, अर्काले दिएको भरमा बाँच्नुपर्ने, आफूले गरेर खाने वातावरण छैन। तिमीलाई पनि थाहा छ यसै त हामीलाई रिफ्यूजी भनेर अर्कै व्यवहार गरिन्छ। ”
आज यमी रन्थनिने कुरा गर्दै थिइन्। उनले के भनेको मैले राम्रोसँग बुझ्नसकिरहेको थिइनँ। उनको कुरा रोक्न खोजें।
“हेर यमी तिमी किन यस्तो कुरा गर्छौ ? नागरिकता हुँदैमा मान्छेलाई पुग्दैन। हो नेपालमा गर्न, खानलाई राम्रो वातावरण छैन तर केही समय पर्खनुपर्छ। हामी त्यति साह्रो आत्तिहाल्नु पनि त हुन्न नि। देश बन्दैछ। अवसरहरु बिस्तारै खुल्दैछन्। हिजो र आजमा हेर न कति फरक हुँदैछ। आशावादी हुनुपर्छ। फेरि केही समयपछिको कुरा त हो नि। हामी दुई एक भइहाल्छौं नि। छाडिदेउ यो कुरा.. ”
मेरो कुरा पूरै हुन पाएन।
“यो त सबै तिमीले आदर्शका कुरा गर्यौ। एउटा शरणार्थी हुनुको पीडा उसले मात्र बुझ्न सक्छ। तिमीले भनेका कुराहरु म बुझ्छु। तर आदर्श र अवसरको वीचमा ठूलो पर्खाल छ जसलाई म नाघ्न चाहन्छु। म जन्मैदेखि शरणार्थी शायद आफ्नो नामको घरमा पनि जन्मन पाइनँ। कसले कसले दान गरेर बनाइदिएको छाप्रोमा जन्मिएँ। मेरो बुबाआमाले पाएको दुख सम्झिँदा त मलाई बाँच्न पनि मन लाग्दैन। मेरो काकाहरुलाई भोटेको सेनाहरुले कान्लामा खेदीखेदी भालाले रोपेर मारेको कुरा थाहा पाउँदा म तीनदिनसम्म सुत्‍न सकेको थिइनँ। ”
उनी आफ्नै पारामा बहकिंदै गइन्। म अवाक भएर सुनिरहेँ।
“हो, प्रेम जीवनमा सबैभन्दा बलियो वस्तु हो। यसलाइ न कसैले तोड्न सक्छ न जलाउन सक्छ। यो तिमीले नै भनेको होइन ? प्रेम कस्तो हुन्छ यो तिमीले नै मलाई अनुभूत गरायौ। माया कुन चरीको नाम थियो मलाई तिमीले नै सिकायौ। म चारभित्ताभित्र हुर्किएकी एउटी अबोधलाई तिमीले नै प्रेमको फूलबारीमा हुर्कायौ, फूलायौ। यतिधेरै माया शायद म जीवनभरनै पाउँदिन होला। शायद म जीवनभरी नै यसको ऋणी … ”
यति भन्दाभन्दै उनी सुँक्सुँकाउन थालिन्। उनको भनाईको आशय मैले बुझें। उनको कपाल मुसार्दै मैले भनें
“धत् लाटी किन रोएको ! म तिम्रो कुरा बुझ्छु। ”
उसको रुवाइ केही कम भयो।
“म तिम्रो मन रुवाउन चाहन्न। ”
उनको कुरा फेरि शुरु भयो।
“तिमी मलाई स्वार्थी भन्छौ होला। शायद अरु साथीहरुले पनि त्यस्तै भन्लान्। तर मैले मेरो परिवार, बुबाआमा, बहिनीहरुको लागि पनि केही गर्नुपर्छ। म गर्भैमा हुँदा पनि मेरो बुबाआमाले आफ्नो ज्यानको पर्वाह नगरी हुनेवाला बच्चाको लागि रातारात भागेका थिए। बुबाआमाबाहेक मेरो अभिभावक कोही पनि छैन। उनीहरुको रेखदेख र बहिनीहरुको भविष्यको लागि पनि मैले यो निर्णय लिएकी हुँ। ”
यमी अझ गम्भीर भएर बोल्न थाली
“पहिले त मलाई म कुनै पनि हालतमा यहाँबाट जान्न जस्तो लागेको थियो। तर बिस्तारै सबै कुराहरु विचार गर्दै जाँदा मेरो मनमा प्रेम र कर्तव्यको अन्तर्द्वन्द्व चल्यो। म मेरो आफ्नो लागि सोच्नुभन्दा मेरो परिवारप्रतिको कर्तव्यको लागि भए पनि प्रेमको बलिदानी दिनैपर्छ जस्तो लाग्यो। तिम्रो बारेमा हजारचोटी सोचें। तिमीसँग बिहे भएर तिम्रो घरमा भित्रिएको सम्झेँ। हजारचोटी तिमीसँगको रंगीन सपनाहरुको बारेमा सोचें। फेरि आफ्नो बुबाआमाको ढल्कँदो उमेर र बहिनीहरुको बढ्दो उमेर र आकांक्षाहरुको बारेमा सम्झिएँ। मैले धेरैचोटि आफ्नो दाजुभाइ भइदिएको कल्पना पनि गरें तर कोरा कल्पनाले के हुन्छ र ?
धेरैचोटी धेरै जनाको बारेमा सोचेँ र आफ्नो निर्णय गरेँ तर जब तिम्रो बारेमा सोच्छु कहिले पनि निर्णय गर्न सक्दिनँ। तिमीले मेरो मनमस्तिष्कमा कहिल्यै नहट्ने त्यस्तो छाप बसाएका छौ। अब आफै भन म तिम्रो बारेमा के निर्णय गरुँ ? ”
ऊ आफैमा अनुत्तरित। मलाई प्रश्न गर्दा म अन्यौल भएँ। उनले फेरि थपिन्
“तिमी आफैमा सक्षम छौ। जवान छौ। तिम्रो आफ्नै हैसियत छ। फेरि पनि केही गर्नसक्छौ। माया प्रेम खाली पाउनु मात्र त हैन। त्यसमा समर्पणको पनि त कुरा हुन्छ नि। ”
म केही बोलिनँ। मसँग बोल्ने शब्दै थिएन।

No comments:

Post a Comment