–गोपाल गडतौला, झापा
५ जनवरी २०१० को साँझ एक जना अधबैंसे महिला र दुई साताकी नवजात शिशुकी आमा बास माग्न आएको देवीमाया सार्कीलाई अझै सम्झना छ । शिविर पूर्व–उत्तरको डाँडापारिबाट बिरामी शिशु जँचाउन स्वास्थ्य केन्द्र आउँदाआउँदै रात परेको उनीहरूले बताएका थिए । त्यो रात उनीहरू झापा शान्तिनगर गाविसस्थित टिमाई शरणार्थी शिविर सेक्टर डी–५ को ४६ नम्बरको उनको छाप्रोमा बसेका थिए । भोलिपल्ट बिहान शिशु कोक्रामा छाडेर दाँत माझ्ने ब्रस र मञ्जन किन्न पसल लागेका उनीहरू फर्किएनन् । त्यसपछि एन्जिला नाम राखिएकी ती शिशु देवीमायाका छोराछोरी जिपेश र अप्सनासँगै हुर्किरहेकी छिन् ।
ती बालिकाकै कारण देवीमायाको परिवारले भने ठूलो सास्ती व्यहोरिरहेको छ । पुनर्वासमा तेस्रो देश जान ६ वर्षअघि इच्छापत्र भरेकी देवीमायाका घर र माइतीतिरका दर्जन बढी आफन्त अमेरिका पुगिसक्दा पनि देवीमायाको परिवार भने एन्जिलाकै कारण जान पाएको छैन । काखमा लुटपुटिएकी एन्जिलालाई मुसार्दै देवीमायाले भनिन्, “युएनएचसीआर र आईओएमका सरहरूले यसलाई लिएर जान पाइँदैन भनेका छन् ।” कान्छी छोरी अप्सना दुई वर्ष पुग्दै गर्दा आएकी एन्जिलालाई दूध खुवाएर हुर्काएकाले छाड्न नसकेको तथा सँगै लैजान पनि नपाएको उनको भनाइ छ । भूटानी शरणार्थीले पुनर्वासमा अरूलाई लैजान नपाउने प्रावधान छ ।
पुनर्वासमा गएर शरणार्थीको संख्या घटेपछि टिमाई शिविरलाई अहिले ६० किलोमिटर पश्चिम झापाको बेलडाँगी शिविरमा मिसाइएको छ । देवीमाया र उनका मिस्त्री पति ओमराजको परिवार अहिले बेलडाँगी–२ शरणार्थी शिविर सेक्टर बी–२ को १०२ नम्बर छाप्रोमा बस्छ ।
धेरै छन्, जान नपाउने


टिमाई शिविरमा रहँदा उनी ३ फागुन २०६४ को अपराह्न ४ बजे शिविरकै सात जना भूटानी शरणार्थीसँग चन्दा लिइरहेको वेला पक्राउ परेका थिए । झापा जिल्ला अदालतबाट ११ दिनपछि रु.२२५ जरिवाना तिरी उनी मुक्त भए भने सोही अभियोगमा फरार भएका अर्का शरणार्थी गोविन्द रिजाल (३८) ले भाइ मार्फत रु.५०० जरिवाना तिरेपछि मुक्ति पाए । अहिले शनिश्चरे शिविरमा बसिरहेका उनको पनि पुनर्वास प्रक्रिया अवरुद्ध छ । उनका दाजुभाइ भने अमेरिकाको कोलोराडो र पेन्सिलभेनिया पुनर्वास भइसकेका छन् ।
वितेको २३ वर्षमा विभिन्न अभियोगमा सजाय भोगेका २०० भूटानी शरणार्थीको पुनर्वास प्रक्रिया रोकिएको गृहमन्त्रालय अन्तर्गतको शरणार्थी समन्वय एकाई बेलडाँगी–२ का शिविर सुपरीवेक्षक यज्ञ निरौला बताउँछन् ।
लीलाप्रसाद (३१) र सीता भुजेल (२७) को पनि पुनर्वास रोकिएको छ । पाल्पाको हेक्लाङ गाविस माइती भएकी सीताको हेक्लाङकै एउटा चर्चमा काम गरिरहेका बेलडाँगी–१ सेक्टर ए–१ छाप्रो नम्बर ५१ का लीलाप्रसादसँग सन् २००७ को अन्त्यतिर बिहे भएको थियो । त्यसको चार वर्षपछि शिविर आउँदा लीलाप्रसादकी जेठी श्रीमती कर्णमाया सात वर्षको छोरो लिएर पुनर्वासमा अमेरिका गइसकेकी थिइन् । करीब १६ वर्ष शिविरमा बसेका लीलाप्रसादको पहिलो विवाह र सन्तानको विवरण शिविरस्थित शरणार्थी समन्वय एकाइ र राष्ट्रसंघीय शरणार्थी आयोग लगायत सबै सहायता संस्थाको रेकर्डमा थियो । “तेस्रो देश गइसकेकी पत्नीसँग सम्बन्धविच्छेद गरेको कागज नआउन्जेल पुनर्वास जान पाइँदैन भनेका छन्”, १९ जेठ दिउँसो सीतासाथ शिविरमा भेटिएका लीलाप्रसादले भने । उनका बाबु गंगाराम अमेरिकाको टेक्सासमा छन् भने आमा मनमाया न्यूयोर्कमा ।
जालसाझी वा किर्ते गरेको, आतंककारी तथा आपराधिक पृष्ठभूमि भएको र बहुविवाह गरेको प्रमाणित भएमा तेस्रो मुलुकले पुनर्वासमा लैजाँदैनन् । “पुनर्वास गर्ने देशको कानूनले स्वीकार्दा मात्र जान पाउँछन्”, भूटानी शरणार्थी पुनर्वास प्रक्रियामा संलग्न एक जना अधिकारीले भने । बेलडाँगी–२ का सुपरीवेक्षक यज्ञ निरौला पनि पुनर्वासमा लैजाने मुलुकका छानबिन अधिकारीले त्यस्ता अभियोग लागेका प्रति नरम व्यवहार नदेखाउने गरेको बताउँछन् ।
शिविरमा नयाँ परिवार
भूटानबाट खेदिएर नेपालमा शरणार्थी बनेको दुई दशकपछि पनि केही भूटानीहरू राष्ट्रसंघीय सहायता शिविरमा आइरहेका छन् । बुद्धहाङ सुब्बा (३८) र उनकी पत्नी पञ्चमाया (४४) ६ जनाको परिवारसाथ २०६९ मा बेलडाँगी–१ शरणार्थी शिविर आएका छन् । पुख्र्यौली थलो दक्षिण भूटानको दागना जिल्ला अन्तर्गतको गोपिनी रहेको बताउने उनीहरू भूटानबाट खेदिएपछि १५ वर्ष सिक्किममा र ६ वर्ष इलामको लारुम्बामा अँधिया खेती गरेर बसेको बताउँछन् ।
१८ नोभेम्बर २०१३ मा बुद्धहाङले बेलडाँगी–१ शरणार्थी समन्वय एकाइलाई लामो समय शिविर बाहिर बस्न गाह्रो भएकोले आएको निवेदन दिए । उनको परिवारमा पत्नी, भाइ बलबहादुर, छोराहरू सुकबहादुर र रामबहादुर तथा बुहारी नीरा छन् । सुकबहादुरकी पत्नी नीराको माइती ताप्लेजुङको लिम्बुदिन हो । कान्छो छोरो रामबहादुर शिविरको विद्यालयमा ९ कक्षामा पढ्छन् । उनीहरू अहिले पुनर्वास भइसकेका गर्जमान पौडेलको बेलडाँगी–१ सेक्टर डी–४ को ३७० नम्बरको छाप्रोमा बस्छन् । तर, शरणार्थी समन्वय एकाइका शिविर सुपरीवेक्षक हरिप्रसाद पोखरेलका अनुसार, उनीहरूलाई पुनर्वासमा जान सजिलो छैन ।
दर्तामा छुटेको भन्दै सन् २०१२ मा निवेदन दिएका र ११ दिनसम्म आमरण अनशनमा बसेका १९७४ मध्ये शरणार्थी समन्वय एकाइले १८०० लाई भूटानी शरणार्थीमा दर्ता गरेको थियो । फेरि दर्ता खुल्ने आशामा अहिले पनि १०० भन्दा बढी भूटानी शरणार्थी शिविर र शिविर बाहिर पर्खेर बसेका छन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
No comments:
Post a Comment